
काठमाडौं : नेपालको संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट शनिवार सर्वसम्मत पारित भयो। दफावार छलफलपछि विधेयक सर्वसम्मत पारित भएको हो।
प्रतिनिधिसभा नियमावलीको नियम १३७ अनुसार विधेयक मत विभाजनद्वारा पारित भएको हो। हस्ताक्षरसहित मत विभाजन गरिएको हो।
मतदानमा कूल २७५ सांसदमध्ये २५८ जना संसदमा उपस्थित थिए। र, विधेयकको पक्षमा २५८ मत नै परेको थियो।
शनिवार १२ जना सांसद मतदानका बेला संसदमा अनुपस्थित थिए। मतदानमा अनुपस्थित रहेका सांसदहरुमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद साह हुन्। त्यस्तै, शिवकुमार मण्डल, सरिता गिरी, सूर्यनारायणण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल, ज्ञानकुमारी छन्त्याल पनि मतदानका बेला अनुपस्थित थिए।
विधेयक संशोधनको प्रस्ताव गरेकी सांसद सरिता गिरी सभामुख अग्नि सापकोटाले प्रस्ताव अस्वीकृत गरेपछि संसदबाट बाहिरिएकी थिइन्।
यसैगरी, संसदबाट चार सांसद निलम्बित छन् जो संसद बैठकमा भाग लिन पाउँदैनन्। जसमा विजयकुमार गच्छदार, मो आफताव आलम, हरिनारायण रौनियार र रेशम चौधरी रहेका छन्।
त्यस्तै, सभामुखलाई भने मत दिने अधिकार हुँदैन।