PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

सरकारी जोडबलमा युवाहरुको आन्दोलन डिफ्युज गर्ने प्रयास, को थिए ती समातिएका विदेशी?



सविन ढकाल

सरकारी जोडबलमा युवाहरुको आन्दोलन डिफ्युज गर्ने प्रयास, को थिए ती समातिएका विदेशी?

काठमाडौं : सामाजिक सञ्जालबाट जोडिएका सरकारसँग असन्तुष्ट युवाहरूले केही दिनदेखि देशभर प्रदर्शन तथा विरोधका कार्यक्रम गरिरहेका छन्। उनीहरूले अहिले कोरोना सङ्क्रमणका बेला सरकारले देखाएको उदासिनता, अपारदर्शिता र भारतले हडेपेको भूमिको विषयमा प्रदर्शन गरिरहेका छन्।

जेठ २८ गते बालुवाटारमा भएको प्रदर्शनमा प्रहरीको हस्तक्षेप भएपछि सामाजिक सञ्जालको समूह झनै जुर्मुरायो। बालुवाटारपछि देशका मुख्यमुख्य शहरमा प्रदर्शन भएका छन्। सरकारको विरोधमा ठूलै जमात सृजना भएको थियो। फेसबुक र ट्विटरमा मात्र उफ्रिने भन्दै आरोप खेपेका युवाहरू यस पटक भने सडकमा नै उत्रिएर देखाए।

फेसबुकमा कोभिड-१९ 'इनफ इज इनफ' सृजना भयो। यही ग्रुपले आन्दोलनको लिड गर्दै गयो। मानिस फेसबुकमा जोडिँदै गए। आजसम्म फेसबुकमा मात्र १ लाख ७६ हजार मानिस जोडिसकेका छन्। अधिकांश युवा नै छन् यसमा। एकपछि अर्को असफलता हात पार्दै गएको सरकार युवा नै सडकमा उत्रिएपछि केही हच्कियो।

सदनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता गगन थापासहित धेरैले सरकारलाई प्रश्न गरिरहँदा सडकमा युवा जमात विभिन्न रचनात्मक नारा बोकेर उत्रिएका थिए। युवाका नारा र आन्दोलनले अरू मानिसलाई पनि सडकतिर खिच्दै लग्यो।

शनिवार काठमाडौंको माइतीघरमा विशाल प्रदर्शन निकाल्ने तयारी गर्‍यो। सबैतिर आह्वान भयो। उनीहरूको आह्वानले सरकारदेखि गृह प्रशासनलाई समेत झस्काइसकेको थियो। बिहीवार गृह मन्त्रालयले यसरी आन्दोलनमा उत्रिए कारबाही गर्ने चेतावनी दियो। तर, गृहको यो चेतावनीले उनीहरूलाई रोक्न सक्ने अवस्था थिएन।

धेरै सङ्ख्यामा मानिस उत्रिने अनुमान प्रहरी प्रशासनले गरिसकेको थियो। यसको जानकारी प्रहरीले गृह मन्त्रालयलाई समेत गराएको थियो। सरकारले शनिवारको प्रदर्शन टाउको दुखाइ बनेको थियो। कसरी आन्दोलनलाई कमजोर बनाउने भन्नेमा सरकार सक्रिय रहयो। 'हामीले एक दिनअघि नै सम्बन्धित सबै निकायमा भनेका थियौँ। के गर्ने कसरी व्यवस्थापन गर्नुहुन्छ भनेर,' एक सुरक्षा निकायका उच्च अधिकारीले भने।

सरकार र गृह मन्त्रालय दुवै शनिवारको आन्दोलन दबाउने रणनीतिमा थिए। रातारात सोसल मिडियाबाट बनेको ग्रुपमा सक्रिय मानिसलाई कन्भिन्स गराउन सुरु गरियो। उनीहरूलाई आन्दोलन नगर्नका लागि विभिन्नखाले आश्वासन दिइयो। सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो कार्यकर्तादेखि आफन्तसमेतलाई परिचालन गरेर आन्दोलन आह्वान नगर्न भनियो। संविधान संशोधन र मुलुकको भुगोलको विषयलाई भावनात्मक हिसाबले प्रस्तुत गर्दा आन्दोलन कमजोर हुने विश्लेषण थियो।

त्यसैको असर हो, एक भएर आन्दोलनमा उत्रिएको समूह दुई भागमा विभाजन भयो। केहीले शनिवारको लागि भनिएको विरोध कार्यक्रम सार्न आह्वान गर्न थाले। संविधान संशोधनलाई नै उनीहरुले त्यसमा आधार माने। त्यसको असर शनिवारको प्रदर्शनमा देखियो।

'हाम्रो प्रदर्शन सफल भएको छ। तर आज नक्साको विषयलाई लिएर संविधान संशोधन गर्ने दिन भएकाले केही साथीले नगर्ने र केही गर्नै पर्छ भन्ने कुरा आयो। अरु साथिहरु अलमलमा पर्नुभयो र मानिसको उपस्थिति कम भयो,' ग्रुपकी सदस्य नग्मा श्रेष्ठले भनिन्।

यता सुरक्षा निकायले पनि प्रहरी परिचालनको सङ्ख्या बढायो। आन्दोलन भड्काउन सक्ने मानिसको स्क्यानिङ गरिएको थियो। 'अराजक तत्त्वहरूको घुसपैठ हुनसक्ने भएकाले हामीले त्यस्ता मानिसको निगरानी गरेका थियौँ,' महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले भने।

सोसल मिडियामा आन्दोलनको नेतृत्व नै समातिए

सोसल मिडियामा सरकारको विरोध गरिरहेका र समूहमा सक्रिय केही सदस्यलाई प्रहरीले मानसिक र भौतिक रूपमा नियन्त्रणमा राख्यो। उनीहरूलाई आन्दोलन नगर्न चेतावनी समेत दिएको थियो। ग्रुपमा सक्रिय रहेका इशन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लियो। कोरोना सङ्क्रमणको समयमा मानिसलाई भड्काएर आन्दोलनमा उतारेको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

ईशान २०७३ जेठमा सिंहदरबारमा रङ्ग छ्यापेर सामाजिक अभियन्ताको रूपमा चिनिएका युवा हुन्। त्यस्तै ग्रुपका अर्का सदस्य खड्ग रोकाय र सचिन श्रेष्ठलाई समेत निमन्त्रणा लिएको छ।

'कोरोना सङ्क्रमणको समयमा आन्दोलन अभियोगमा नियन्त्रणमा लिएका हौँ,' परिसरका एसएसपी श्याम ज्ञवालीले भने।

आन्दोलनमा विदेशी!

युवाहरूले जारी राखेको आन्दोलनमा विदेशी नागरिक समेत भेटिए। काठमाडौँ भएका प्रत्येक आन्दोलनमा उनीहरू देखिँदै आएका छन्। बालुवाटारदेखि माइतीघरसम्मकै आन्दोलनमा उनीहरु सक्रिय छन्। शनिवार बिहानै त्यस्ता ७ विदेशी नागरिक समातिए। उनीहरू हातमा प्लेकार्ड नै बोकेर धर्नामा बसेका थिए।

यसरी समातिएका नागरिक विभिन्न देशका छन्। अमेरिका, चीन, अस्ट्रेलिया, नर्वे र क्यानडाका गरेर ७ जनालाई प्रहरीले पक्राउ गरेको हो। ३ जना चिनियाँ, १ जना अस्ट्रेलियन, १ अमेरिकन, १ नर्वेजियन, १ क्यानेडियन रहेका छन्। नियन्त्रणमा लिएका मध्ये ४ जना महिला हुन्। उनीहरू आन्दोलनमा किन आए? यसको प्रस्ट जवाफ आइसकेको छैन। उनीहरूले अहिले केही बताइसकेका छैनन्।

'केही रमाइलोको लागि पनि पुगेको देखिन्छ। बाँकीको अनुसन्धान भइरहेको छ,' एसएसपी ज्ञवालीले भने।

प्रहरीले उनीहरूलाई अध्यागमन विभागमा बुझाउने तयारी गरिरहेको छ। समातिएका मध्ये केही लामो समयदेखि नेपालमा बस्दै आएको खुलेको छ। एक क्यानेडियन नागरिक नेपालमा पाँच वर्षदेखि बस्दै आएको खुलेको छ। उहिले महानगरीय अपराध महशाखाको टोलीले उनीहरुको अनुसन्धान गरिरहेको छ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार दुई जना महिला ग्रुपमा सक्रिय सदस्यका प्रेमिका समेत भएको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell