काठमाडौं : प्रतिनिधि सभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाउँदै दीप प्रज्वलन गरिएको छ।
निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि देशका विभिन्न दीप प्रज्वलन गरिएको हो।
विधेयक पारित भएको खुशियालीमा शनिवार तनहुँको दमौलीमा दीप प्रज्वलन गरिएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) व्यास नगर कमिटीले संविधान संशोधन विधेयक पारित भएको खुशियालीमा दीप प्रज्वलन गरेको हो।
भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयक पारित भएसँगै नेकपाले दमौलीस्थित मुख्यचोकमा दीप प्रज्वलन गरेको हो।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले संविधान संशोधन विधेयक पारित भएका दिन नेपाली जनताका लागि गर्वको दिन रहेको बताउँदै भारतले कब्जा गरेको भूमि फिर्ता ल्याउन नेपाली जनता एकजुट हुनुपर्ने बताए। नेकपाका केन्द्रीय सदस्य एकबहादुर रानाले भारतसँग कूटनीतिक वार्ता गरेर गुमेको भूमि फिर्ता गर्नुपर्नेमा जोड दिए।
नेकपा व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले राष्ट्रियताका सवालमा सबै दलबीच अभूतपूर्व एकता कायम भएकाले अतिक्रमित भूमि फिर्ता ल्याउन पनि सबै दल एकजुट हुनुको विकल्प नरहेको बताए। राष्ट्रिय जनमोर्चा तनहुँका सचिव पुष्पलाल श्रेष्ठले राष्ट्रिय स्वाधीनताका लागि लड्न सबै नेपाली तयार हुनुपर्ने बताए।
नेकपाका जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपानेले संविधान संशोधन विधेयक पारित भएको खुशियालीमा जिल्लाका दशवटै स्थानीय तहमा दीप प्रज्वलन गरिएको जानकारी दिए।
त्यस्तै, विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको खुशियालीमा स्याङ्जामा पनि दीपावली गरिएको छ।
जिल्ला सदरमुकामस्थित शहीद चोकमा दीपावली गरिएको नेकपाका अध्यक्ष सूर्यप्रसाद गैह्रेले जानकारी दिए। यसैगरी, वालिङ उद्योग वाणिज्य संघले पनि दीपावली गरेको छ।
जिल्लाका सर्वसाधारण एवं विभिन्न संघसंस्थाले समेत शनिवार संविधान संशोधनको प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको खुशीयालीमा जिल्लामा दीपावली गरेका हुन्।
यसैगरी, विराटनगरको जनआन्दोलन चोकमा पनि शनिवार साँझ दीप प्रज्वलन गरिएको छ।
राष्ट्रिय युवा संघ र अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन मोरङद्वारा आयोजित उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य गुरु बराल, महेश रेग्मी, प्रदेश सभा सदस्य सावित्रा रेग्मी, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेतीलगायत नेता कार्यकर्ताले नेपालको नक्शामा मैनबत्ती बाली दीप प्रज्वलन गरेका थिए।
सो अवसरमा सर्वसाधारणले पनि दीप प्रज्वलन गरेका थिए। यसैगरी, जिल्ला प्रशासन कार्यालय मोरङ आगाडि, वरागाछीसमेतमा नक्शा अङ्कित निशान छाप पारित भएको खुशीमा दीप प्रज्वलन गरिएको छ। खुशियाली मनाउन सर्वसाधारण नागरिकले आफ्नो घरमा दीप प्रज्वलन गरेका छन्।
यस्तै, नेकपा बाजुराले पनि मार्तडीमा दीप प्रज्वलन गरेको छ। नेकपाका नेतासहित युवाले विधेययक प्रतिनिधि सभाबाट पारित भएपछि बेलुकी जिल्ला सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरेको नेकपा प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिए।
यता, राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा विधेयक पारित भएको खुशीयालीमा काभ्रेपलाञ्चोकको बनेपामा दीप प्रज्वलन गरिएको छ।
दुवै कमिटीले बनेपा चारदोबाटोमा बेलुका दीप प्रज्वलन कार्यक्रम गरी खुशीयाली मनाएका हुन्। कार्यक्रममा सहभागीले राष्ट्रिय झण्डा फहराएर लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई तत्काल फिर्ता गर्न भारत सरकारसँग माग पनि गरेका छन्।