आजकाल हेमराज ओझाको दैनिकी फेरिएको छ। विहानै घरबाट निस्कँदा कति बेला फर्कन्छन् टुंगो हुँदैन। उनी गाडीमा खानेकुरा बोक्छन्। र, हुइकिन्छन् सीमातिर। भारतका विभिन्न शहरबाट लामो यात्रा गरेर, थाकेर आएका भोका नेपालीलाई खाना खुवाउँछन्।
खुवाउनुमा मात्र कहाँ उनको परोपकार सीमित छ र? सम्भव भएसम्म गाडीको व्यवस्था गरिदिन्छन्। आ-आफ्नो घर पठाउँछन्।
लकडाउन सुरु भएयता हेमराज निरन्तर कैलाली (गौरीफन्टा) र कञ्चनपुरका सीमामा यसरी नै खटिएका छन्।
कृष्णपुर नगरपालिका, गुलरियाका हुन् हेमराज ओझा। समाजसेवीका रुपमा चिनिएका छन्। कांग्रेसका नेता, स्थानीय तहको निर्वाचनमा मेयरका उम्मेदवार। पराजित भए पनि हार्नुले सामाजिक जिम्मेवारी वहनका लागि छेकेन।
चैत ११ मा लकडाउन घोषणा भयो। ती दिनमा जनचेतनामुलक कार्यमा सक्रिय थिए उनी। पोस्टर, पम्पलेट, मास्क तथा खाद्यान्न वितरण गरे। समयसँगै लकडाउनले फरक समूहमा फरक प्रभाव पार्दै गयो। उनको सामाजिक सक्रियताको स्वरुप बद्लिदै गयो।
लकडाउनको सुरुवाती दिनमा भारतबाट औषधि मगाइदिने, गाउँका विरामीलाई आफ्नै गाडीमा बोकेर अस्पताल पुर्याइदिने, उपचार गराइदिने, अस्पताल तथा मेडिकलबाट औषधि पुर्याइदिने काम गरेका थिए।
‘२५/३० जना विरामीलाई आफ्नै गाडीमा राखेर अस्पताल पुर्याएँ,’ उनले सुनाए। ओझाले १० हजारभन्दा बढी मास्क नि:शुल्क वितरण गरेका छन्।
सुरुवाती चरणमा उनी आफ्नो कार्यक्षेत्र कृष्णपुरमा केन्द्रीत थिए। पछि नाकातिर लागेका हुन्। नाकामा जाँदा पनि प्रारम्भिक चरणको स्थिति दयनीय रहेको उनी सम्झन्छन्। गौरीफन्टा नाकाको डोकेबजार अहिले दाताले भरीभराउ छ। तर उनी सुरुमा पुग्दा प्रवासी नेपाली दाजुभाईले दुई दिनदेखि खान नपाएको स्थिति थियो। राती दयनीय अवस्था देखेका उनले विहानपख १५ सय विस्कुट र चिया खुवाए।
यसरी २० दिन अघिदेखि नाकामा उनको सेवा सुरु भयो। पछिल्लो समय त समूह बनाएर खटिएका छन्।
दैनिक ५/६ सय जनासँग जोडिन्छ नाकामा, पीपीई सेट लगाएर। आवश्यकता हेरी खाना, पानी, चाउचाउ विस्कुट दिन्छन्। टेलिफोन सुविधा उपलब्ध गराउँछ, परिवारसँग सम्पर्कका लागि।
व्यक्तिगत लगानी
यस निरन्तरको सेवामा खर्च उनको व्यक्तिगत। केही दाताहरु जोडिन नखोजेका होइनन्। तर आफ्नो स्रोत साधनले भ्याएसम्म आफै गर्छु भन्ने सोचे। नाकामा खाना खुवाउने कुरालाई कसैसँग मागेर दिन मन नमानेको बताउँछन् उनी।
‘हुँदै नभएको अवस्थामा त्यो विकल्प हुन सक्थ्यो होला। तर, आत्मसन्तुष्टि र आफ्नो दृष्टिकोण हुन्थेन,’ उनी भन्छन्।
+++
स्थानीय तहको निर्वाचनमा कृष्णपुर नगरपालिकाको मेयर पदमा पराजित भएपछि सामाजिक सेवामा उत्रिएका हुन् उनी। विद्यालयहरुमा छात्रवृति दिने, नल्का (धारा) हालिदिने, विद्यालयमा मन्दिर बनाइदिने काम उनले आफ्नै खर्चमा गरेका छन्।
‘सहयोगी भाव कोरोनाका कारण अकस्मात भएको होइन,’ उनी भन्छन्, ‘पहिलादेखि नै सामाजिक काम गर्दै आएको छु। बुवाआमा र दाइले गरेका कामहरुले अझै प्रोत्साहित गर्यो।' उनका दाइको सशस्त्र द्वन्द्वका क्रममा २०५८ सालमा विद्रोही माओवादी पक्षबाट ज्यान गयो।
सामाजिक सेवा र सहयोगलाई आफ्नो 'संस्कार'का रुपमा व्याख्या गर्छन् उनी। कोरोना महामारीमा अझै बढी खट्ने मौका पाए।
सीमामा हरेक दिन नयाँ मान्छे आउँछन्। हिजो दिएको सेवा आज र आज गरेको सेवा भोलि दिन मन लाग्ने उनको कथन छ। भन्छन्, ‘अहिले त यस्तो भइसक्यो कि बेंगलोर, महाराष्ट्र, मद्रास, गुजरातबाट फोन आउँछ। नचिनेका मान्छेबाट फोन आएर तपाई कहाँ हुनुहुन्छ? म आउँदैछु भन्दा खुब आत्मसन्तुष्टि मिल्छ। त्यसैले जहिलेसम्म यो कामलाई सक्छु निरन्तरता दिन्छु।’
लकडाउनको सुरुवाती चरणमा गाउँ गाउँ जान पनि गाह्रो भएको र सरकारले एकद्वार प्रणाली भनेकाले सुरुमा ओझाले नगरपालिकाको विपद व्यवस्थापन कोषमा ५१ हजार रुपैयाँ जम्मा गरेका थिए। एकद्वार प्रणालीमा भने उनको असन्तुष्टि रहेछ।
‘सबै अलपत्र छन्। नाकाको अवस्था नाजुक छ। कुनै परीक्षण छैन। टिप्परमा मान्छे बोक्ने अवस्था छ। भारतबाट सद्दे मान्छे आएपछि यहाँ लामो यात्रामा कोचिएर जाँदा संक्रमणको खतरा छ। महामारीको रुप लिन सक्छ। सरकारको कुनै तत्परता देखिएन,’ उनले सुनाए।
लकडाउनका नाममा सुरुमा मान्छे नाकामा रोकेर सरकारले गल्ती गरेको उनको निष्कर्ष छ।
‘नेपाल घर भएका मान्छे भारतमा रोकिने कुरो हुँदैन। आइहाले। नाकामै राखेर जुनसुकै खालको पनि टेस्ट गरेर पठाउँदै गरेको भए सहज हुन्थ्यो। नाका मान्छे आएर कसरी घर पुग्ने भन्ने बेला सरकारले अलपत्र छोड्यो। को मान्छे कता गइरहेको भन्ने लेखाजोखा पनि छैन। यस्तो अवस्था नाकामा छ,’ उनले गुनासो गरे।
फेसबुकबाट सूचना
ओझाले फेसबुकबाट सार्वजनिक सूचना जारी गरे - अफ्ठेरोमा परेका व्यक्तिलाई सम्पर्कमा आउनका लागि। ‘कोही विरामी भएमा, औषधि चाहिएमा म सँग गाडी छ, त्यो सुविधा उपलब्ध गराउँछु भनेर अपिल गरेको थिएँ। मसँग पेट्रोलियम पदार्थ मौज्दात भएकाले इन्धनको अभावमा एम्बुलेन्स नरोकिओस्, लिन आउनुस् भनेर आह्वान गरेको थिएँ। जुनसुकै वर्ग, जात, जो मान्छेले मलाई जतिबेला पनि भन्यो मैले सहयोग गरे,’ उनले सुनाए।
ओझा आफूले सहयोग गर्दा पाएको प्रतिक्रियाबाट दंग छन्। उनले नाकामा खाना खुवाएका, उद्धार गरेका मानिसहरु अहिले क्वारेन्टिनमा छन्। क्वारेन्टिन अवलोकनमा जाँदा उनीहरुले देखाएको माया र स्नेहपूर्ण व्यवहारप्रति ओझा गर्व गर्छन्। ‘अफ्ठेरोमा परेको मान्छेले सानै सहयोग पनि महसुस गर्दो रहेछ,’ उनी भन्छन्, ‘क्वारेन्टिनमा जाँदा देखाएको सद्भावले मलाई आभाष भयो। साथै थप जिम्मेवारी पनि बोध गरायो।’
ओझाले आफ्नो कारलाई एम्बुलेन्स बनाएर विरामीलाई अस्पताल पुर्याइदिँदा कतिले धन्यवाद दिए। कतिले पैसा पनि दिन खोजेका हुन्। तर उनले त सेवा गरेका थिए। कहाँ लिन्थे र? ‘मैले कसैसँग पैसा लिइन। कतिले एम्बुलेन्स नपाइराखेको अवस्था हुन्थ्यो। एकदम कृतज्ञता गर्नुहुन्थ्यो। नि:शुल्क सेवा भनेर भन्थे। कसैलाई त सम्झाउन गाह्रो हुन्थ्यो,’ उनी सम्झन्छन्।
अरु बेला पनि उस्तै सक्रिय
ओझाको क्षेत्र कृष्णपुर तथा जिल्ला कञ्चनपुरमा विकासमा समेत राजनीतिक रुपले विभेद गरिँदै आएको उनको दावी छ। गाउँ र टोललाई फरक पार्टीको भनेर विकास तथा अन्य अवसरबाट वञ्चित गराउने, वेवास्ता गर्ने परिपाटीको विरोध गर्छन् उनी।
तर ओझा भने राजनीति, धर्म, व्यवसाय, वर्ग लगायत विषयभन्दा माथि उठेर सक्रिय छन्। त्यो पनि व्यक्तिगत खर्चमा। उनको कामबाट सत्तारुढ नेता कार्यकर्ता पनि सन्तुष्ट छन्। प्रशंसा पनि गर्छन्। किनकि ओझाले आफ्नो पार्टीमात्रै होइन सत्ता पक्ष तथा सबैलाई आफूले भ्याएसम्म बराबरी सहयोग गरेका छन्। नेकपाका युवा नेता अर्जुन साउदको नजरमा ओझा सच्चा समाजसेवी हुन्।
चुनाव हारेपछि उनी भेटघाट भन्ने शिविरमा गए। त्यहाँका नागरिकले तपाईंले चुनाव जितेको भए नल्का (धारा) पाइन्थ्यो भन्दै उनीप्रतिको आशा प्रस्तुत गरे। त्यो सुनेर ओझा खुसी भए किनकि जनताको आशा अझै थियो। उनले त्यो आशा मर्न दिएन। चुनाव हारेको पाँचौं दिन शिविर पुगेका उनले त्यहीँ दिन नल्का जडान गरिदिए। अहिलेसम्म उनले त्यो शिविरमा तीन वटा नल्का जडान गरेका छन्।
उनी भन्छन्, ‘मलाई के लाग्छ भने यी कुराहरु प्रचारका लागि गरिने होइनन् भनेर मिडियाबाजी गरेको छैन। यसपालि सञ्चार जगतबाटै सोधिखोजी भयो। खुसी लागेको छ। मैले गरेको कामले सबैले प्रेरणा लिउन भन्ने चाहन्छु। सहयोगका हातहरु बढुन। यसो भयो भने अझै सन्तुष्टि मिल्नेछ।’