PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

पहिरोमा पुरिएर तीनको मृत्यु, छ बेपत्ता



रासस

पहिरोमा पुरिएर तीनको मृत्यु, छ बेपत्ता

पर्वत : पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ। पहिरोले पुरिएर छ बेपत्ता भएका छन्।

शनिवार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको हो। थापाको घरमा रहेका अन्य तीन र कमला विकको घरमा रहेका तीन जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेहरुमा सम्राट थापा, दीपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा विक छन्।

उनीहरुको स्काभेटर प्रयोग गरी खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए। स्थानीय र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए।

राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए। अहिले बिहानबाट पुनः उद्धारकार्य शुरु भएको कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए। शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो। पहिरोले उनीहरुका घरमा रहेका अन्य पशु चौपायासमेत मरेका छन्। स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको छ। वर्षाकै कारण पहिरो आएको हुनसक्ने स्थानीय प्रमुख गुरुङले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell