
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले रियल मालोर्कामाथि ४-० को सहज जित निकालेको छ।
इबेरोस्टार स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई हराउन आर्थर भिडाल, मार्टिन ब्रेथवेइट, जोर्डी अल्बा र लियोनल मेस्सीले गोल गरे।
बार्सिलोनाले खेलको दोस्रो मिनेटमै भिडालको गोलबाट अग्रता बनाएको थियो। त्यस्तै ३७ औं मिनेटमा ब्रेथवेइटले गोल गर्दा पहिलो हाफमा बार्सिलोनाले २-० को अग्रता लियो। त्यस्तै दोस्रोहाफमा पनि बार्सिलोनाले २ गोल नै थप्यो। खेलको ७९ मिनेटमा अल्बा र दोस्रो हाफको अतिरिक्त समयमा मेस्सीले गोल गर्दा बार्सिलोनाले मालोर्कामाथि ४-० को सहज जित हात पार्यो।
जितसँगै बार्सिलोनाले अंकतालिकामा ५ अंकको अग्रता बनाएको छ। २८ खेल खेलेको बार्सिलोना ६१ अंकसहित शीर्षस्थानमा छ। त्यस्तै दोस्रो स्थानको रियल मड्रिडले २७ खेलबाट ५६ अंक जोडेको छ।