PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

नेपालको संविधान संशोधनले भारतीय मिडियामा तरङ्ग, सम्बन्ध थप चिसिएको टिप्पणी



पहिलोपोस्ट

नेपालको संविधान संशोधनले भारतीय मिडियामा तरङ्ग, सम्बन्ध थप चिसिएको टिप्पणी

काठमाडौं : प्रतिनिधि सभाबाट नेपालको नयाँ नक्सासहितको निशान छाप सर्वसम्मतिले पारित भएपछि भारतीय मिडियामा असन्तुष्टिको तरङ्ग फैलिएको छ। टाइम्स अफ इन्डियाले प्रतिनिधिसभाबाट नयाँ नक्सा पास भएको भन्दै त्यसलाई अमान्य हुने शीर्षकमा समाचार दिएको छ।

समाचारमा नेपालले नक्सामा भारतीय भूमि समेटेको दावी गर्दै त्यसलाई असमर्थनीय हुने जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवलाई उदृत गर्दै पत्रिकाले पाँच वर्षको अवधिमा दोस्रो पटक भारत नेपाल सम्बन्ध खराब अवस्थामा पुगेको लेखेको छ। उसले संविधान जारी हुँदाको अवस्थालाई पहिलो र निशान छाप संशोधनलाई दोस्रो भनेर व्याख्या गरेको छ। निशान छाप परिवर्तनसँगै भारत नेपाल सम्बन्ध थप खराब अवस्थामा पुगेको जनाएको छ।

'संविधान संशोधन भइसकेको अवस्थामा भारतले आफ्नो पोजिसन प्रष्ट पार्दै नेपालसँग सीमाको विषयमा वार्ता गर्नुको औचित्य सकिएको,' समाचारमा उल्लेख छ। जनता समाजवादी पार्टीका उपेन्द्र यादवले महाकाली सन्धि परिमार्जन गर्नुपर्ने भन्दै संसदमा दिएको अभिव्यक्तिलाई पत्रिकाले प्राथमिकताका साथ प्रकाशित गरेको भने सांसद सरिता गिरीको संविधान संशोधन प्रस्ताव सभामुख अग्नि सापकोटाले बहिस्कार गरेको समेत उल्लेख गरेको छ। स्रोतको हवाला दिँदै पत्रिकाले भारतले टाउकोमाथि तरबार राखेर वार्ता नगर्ने समेत समाचारमा उल्लेख छ।

टाइम्सअफ इन्डियाजस्तै सरकारी धारणालाई बोक्ने अर्को पत्रिका दी हिन्दुस्तान टाइम्सले पनि नक्सालाई अस्वीकार्य भएको भन्दै समाचार प्रकाशित गरेको छ। उसले 'अप्राकृतिक रुपमा नक्सा बढाइएको' आक्षेप लगाउँदै समाचार लेखेको छ। संवादबाट समाधान गर्नुपर्ने विषयलाई लत्याइएको आरोप समाचारमा उल्लेख छ।

भारतले लिपुलेक हुँदै मानसरोबर जोड्ने ८० किलोमिटर सडकको उद्‍घाटन गरेपछि नेपालमा नयाँ नक्सा बनाउन दवाव परेको थियो। भारतले गत वर्षमात्रै जारी गरेको राजनीतिक नक्सामा लिम्पियाधुरालाई समेटेपछि नेपालले आपत्ती जनाएको थियो।

हिन्दुस्तान टाइम्सले नेपाली अधिकारीलाई उदृत गर्दै यस विषयमा नोभेम्बरदेखि तीन पटक वार्ताक लागि पहल गरेको भए पनि भारतले वास्ता गरेन। भारतले अप्रकृतिक सीमा तयार गरेको भन्दै नेपालले गरेको दावीलाई भारतले खण्डन गरेको समाचारमा उल्लेख छ।

इन्डियन एक्सप्रेसले पनि नेपालले जारी गरेको नक्सा ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नरहेको दावी गरेको छ। उसले भारतीय विदेश मन्त्रालयका प्रवक्ताको भनाइलाई आधार बनाएर नेपालको संविधान संशोधनको विषयलाई समाचार बनाएको छ।

द हिन्दुले नेपालमा संविधान संशोधन भएपछि गरिएको दीप प्रज्वलनको फोटो प्रकाशित गरेको छ। साथै भारतीय पक्षले अस्वीकार गरेको विषयलाई पनि समाचारमा उल्लेख गरेको छ। समाचारमा नेपालका पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई उदृत गरिएको छ। उनले भनेका छन्, 'संविधानसँग जोडिएका विषयमा सचिवस्तरमा छलफल हुन सक्दैन यसले नेपाल र भारतबीच सीमाको विषयमा थप जटिलता ल्याएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell