काठमाडौं :गुल्मीमा थप एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएसँगै प्रदेश ५ मा मृत्यु हुनेको संख्या ७ पुगेको छ। नेपालमा कूल संक्रमितमध्ये प्रदेश ५ मा एक हजार ५ सय १९ जना संक्रमित रहेको प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ।
यद्यपि, स्वास्थ्य मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा रहेको एक जनालाई भने आफ्नो तथ्यांकमा राखेको छैन।
पछिल्लो पटक गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा स्थानीय स्तरबाट सञ्चालित आइसोलेसन सेन्टरमा रहेका गुल्मी धुर्कोट गाउँपालिका घर भएका ३६ वर्षीय युवाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको हो।
क्यान्सरबाट ग्रसित संक्रमित युवा आइसोलेसनमा थिए। उनको उपचार अस्पतालको स्वास्थ्य सुविधासहितको कक्षमा हुन सकेन। आइसोलेसन सेन्टरमा स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले नै रगत दिएका थिए। उनको शवलाई शनिवार राती नै नेपाली सेनाले व्यवस्थापन गरिसकेको छ।
भारतबाट आएर धुर्कोटको क्वारेन्टाइनमा रहेका बेला जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि उनले जेठ १३ गतेदेखि तम्घासमा रहेको आसोलेसनमा राखिएको थियो। उनमा आन्द्राको क्यान्सरसँगै उपचारका क्रममा रक्तअल्पता समेत देखिएको थियो।
यसबीच उनको तीन पटकसम्म कोरोना भाइरसको परीक्षण भएको थियो। तीनै पटकको परीक्षणमा उनमा पोजेटिभ देखिएको हो।
यसअघि, गुल्मीकै ४१ वर्षका पुरुषको रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा जेठ ८ मा मृत्यु भएको थियो।
त्यस्तै, प्रदेश ५ को बाँके नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षका युवाको जेठ ४ मा मृत्यु भएको थियो। त्यस्तै, अर्घाखाँचीका एक युवाको नेपाल फर्किने क्रममा नेपाल भारत सीमा नाका नजिकै भारतीय भूमिमा जेठ ११ गते मृत्यु भएको थियो। उनको मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीसँगै आएका अन्य ३० जनासहित उनको शव व्यवस्थापनमा खटिएका सन्धिखर्क नगरपालिकाका उपमेयरलाई पनि संक्रमण पुष्टि भएको छ।
त्यस्तै, मिसन अस्पतालमा उपचाररत ३१ वर्षका युवाको जेठ २० गते पाल्पा मिसन अस्पतालमा मृत्यु भएको थियो। क्वारेन्टाइनमा रहेका उनको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो। त्यही उनकव मृत्यु भयो। उनको मृत्यु भएपछि गरिएको स्वाब परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो।
त्यस्तै, जेठ २५ गते भारतको नयाँ दिल्लीमा दाङका एक ५९ वर्षका पुरुषको मृत्यु भएको र उनको रिपोर्ट पोजेटिभ आएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनको मृत्यु नयाँ दिल्लीमा भए पनि प्रदेश स्वास्थ्य निर्देशनालयले मृत्युमा उनलाई पनि गनेको छ। उनको मृत्युलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा भने समावेश गरिएको छैन।
त्यस्तै, जेठ २८ गते अर्घाखाँचीको मालारानीका एक ५७ वर्षका पुरुषको पनि मृत्यु भएको थियो। अर्घाखाँचीकै क्वारेन्टाइनमा रहेका उनमा एक्कासी स्वासप्रस्वासमा समस्या आएपछि लुम्विनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालबाट डिस्चार्ज भइ फर्किने क्रममा उनको बाटोमा मृत्यु भएको थियो। मृत्यु भएसँगै उनको स्वाब परीक्षण गर्दा ३० गते उनमा संक्रमण पुष्टि भएको थियो।
प्रदेशमा मृत्यु भएका सातमध्ये पाँच जनाको मृत्युपछि मात्र कोरोना संक्रमण पुष्टि भएको छ। गुल्मीका २ जनामा भने संक्रमण पुष्टि भएपछि मृत्यु भएको हो।
अव्यवस्थित क्वारेन्टाइन नै आइसोलेसनमा परिणत
प्रदेश ५ मा चार वटा कोरोना विशेष आइसोलेसन अस्पताल छन्। लुम्विनी प्रादेशिक अस्पताल बुटवलले सञ्चालन गरेको कोरोना विशेष अस्थायी अस्पताल धागो कारखाना, भीम अस्पताल भैरहवा रुपन्देही, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके र बेलझुण्डी कोरोना विशेष अस्पताल दाङ रहेका छन्।
यी अस्पतालमा हाल ९३ जना संक्रमितहरुको उपचार भइरहेको छ। यहाँबाट १४५ जना उपचारपछि निको भएर फर्किएका छन्।
प्रदेशमा सीसीएमसीबाट सञ्चालित तीन वटामात्र आइसोलेसन सेन्टर रहेका छन्। जसमध्ये आइसोलेसन सेन्टर डीसीसीएमसी नेपालगंजमा १४ जनाको उपचार भइरहेको छ। त्यस्तै कपिलवस्तुको महिला विकास भवन कपिलवस्तु ५० बेड क्षमता भनिए पनि यहाँ कसैलाइ राखिएको छैन। र, रोल्पामा २१ बेड क्षमताको अस्थायी कोभिड आइसोलेसन केन्द्र छ। त्यहाँ १६ जना उपचाररत छन्।
प्रदेशम एक कोभिड-१९ 'लेभल ३' अस्पताल छ, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर। यहाँ एक जनाको उपचार भएको छ।
त्यस्तै, गुल्मीमा रहेका ७ आइसोलेसन सेन्टरमध्ये चार वटा शैक्षिक संस्था हुन्। महिला विकास भवन गुल्मी सुरुदेखि नै आइसोलेसन केन्द्रको रुपमा तयार भए पनि अन्य भने क्वारेन्टाइनका रुपमा सञ्चालित थिए।
अर्घाखाँचीमा स्थानीयस्तरबाट सञ्चालित एक आइसोलेसन सेन्टर छ, युवा वर्ष जनता रविचित्र महाटारिनेटा विद्यालय। यहाँ ३५ जना संक्रमित छन्। उनीहरु यसअघि नेपाल आउने क्रममा मृत्यु भएका व्यक्तिसँगै नेपाल आएका हुन्। उनीहरु नेपाल आएसँगै सोही स्थानमा क्वारेन्टाइनमा थिए। क्वारेन्टाइनमा रहेका उनीहरुमा संक्रमण पुष्टि भएसँगै संक्रमितलाई त्यही राखि आइसोलेसन नाम दिइएको हो।
यहाँका संक्रमितमध्ये अर्घाखाँची नगरपालिकाका उपमेयर भने होम आइसोलेसनमा छन्।
बाँकेमा स्थानीयस्तरमा १२ वटा आइसोलेसन सेन्टर सञ्चालनमा छन्। जसमध्ये एउटा डेन्टल अस्पताल हो भने पाँच वटा आइसोलेसन सेन्टर विद्यालयमा बनेका क्वारेन्टाइनलाई नै परिवर्तन गरी तयार पारिएका हुन्।
सबैभन्दा बढी कपिलवस्तु जिल्लामा स्थानीयस्तरबाट आइसोलेसन तयार भएका छन्। जिल्लामा सञ्चालित १९ मध्ये १८ आइसोलेसन सेन्टर स्थानीय स्तरमा तयार भएका हुन्। जसमध्ये ८ वटा विद्यालयमा आइसोलेसन सेन्टर छन्। यी विद्यालयहरु क्वारेन्टाइनका रुपमा पनि प्रयोग भएका छन्। संक्रमण पुष्टि भएपछि अन्त लैजाने ठाउँ नभएपछि संक्रमितलाई क्वारेन्टाइनमै राखेर 'आइसोलेसन' नाम दिइएको हो।
रुपन्देही जिल्लामा स्थानीयस्तरबाट सञ्चालित १२ वटा आइसोलेसन सेन्टर छन्। यी आइसोलेसन सेन्टर पनि अधिकांश शैक्षिक संस्थामा बनेका छन्। जुन यसअघि क्वारेन्टाइनका रुपमा थिए। यहाँ सञ्चालित आइसोलेसन सेन्टर मध्ये ९ वटा शैक्षिक संस्था हुन्। एउटा बौद्ध विश्वविद्यालयको छात्राबास हो। यहाँ यसअघि भारतबाट फर्किएकालाई क्वारेन्टाइनमा राखिएको थियो। त्यसबाहेक पदमपानी योग तथा प्राकृतिक चिकित्सालय र एन्फा विल्डिङलाई सुरुदेखि आइसोलेसन सेन्टरको रुपमा विकास गरिएको थियो।
पछिल्लो समय रुपन्देहीको कञ्चन गाउँपालिकामा तीन महिने शिशुसहित तीन जनामा कोरोना संक्रमित पुष्टि भयो। तर, उनीहरुलाई लैजाने ठाउँ भएन। उनीहरु रहेकै क्वारेन्टाइन लुम्विनी ज्ञान निकेतन माविलाई नै 'आइसोलेसन' बनाएर त्यहीँ राखियो।
नवलपरासीमा स्थानीयस्तरमा सञ्चालित सात आइसोलेसन केन्द्रमध्ये चार वटा क्वारेन्टाइनका रुपमा प्रयोग भएका शैक्षिक संस्था हुन्।
पाल्पामा स्थानीयस्तरबाट सञ्चालित आइसोलेसन सेन्टरमध्ये लुम्विनी मेडिकल कलेज र तानसेन नर्सिङ क्याम्पसमा स्वास्थ्य सुविधा भए पनि अन्य विद्यालयमै सञ्चालित क्वारेन्टाइनलाई परिवर्तन गरी तयार पारिएका आइसोलेसन हुन्।
दाङमा स्थानीय स्तरमा ८ वटा आइसोलेसन सेन्टर तयार छन् जसमध्ये तीन वटा शैक्षिक संस्थामा छन्। यी संस्थाहरु क्वारेन्टाइनका रुपमा पनि प्रयोगमा छन्।
बर्दियाका संक्रमितहरु अहिले स्थानीय स्तरमा सञ्चालित आइसोलेसन सेन्टरमा छन् जसमध्ये एउटा शैक्षिक संस्था हो भने अधिकांश यहाँका आइसोलेसन सेन्टरहरु स्वास्थ्य केन्द्र तथा सार्वजनिक भवन हुन्।
प्युठानमा चारवटा आइसोलेसन सेन्टर छ। यहाँ २३ जना संक्रमितहरु छन्।
रोल्पामा एउट सीसीएमसीबाट सञ्चालित आइसोलेसन सेन्टर छ भने क्वारेन्टाइनकै रुपमा रहेका तीन विद्यालयलाई पनि आइसोलेसन सेन्टर नाम दिएर ८ जनालाई राखिएको छ।