PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सडकमा सवारीको चाप बढेपछि ट्राफिकको नयाँ अभियान : कारबाहीले मात्र भएन सचेत पनि गराउनुपर्‍यो



पहिलोपोस्ट

सडकमा सवारीको चाप बढेपछि ट्राफिकको नयाँ अभियान : कारबाहीले मात्र भएन सचेत पनि गराउनुपर्‍यो

काठमाडौं : सरकारले लकडाउनको मोडालिटी फेरेपछि सडकमा खटिने ट्राफिक प्रहरीलाई झनै सकस बढेको छ। सवारीको सङ्ख्या थपिएका छन्। उल्लङ्घन गर्ने चालकको सङ्ख्या बढ्दै गएको छ। सवारीको नम्बर जोर बिजोर देखि यात्रुको सङ्ख्या समेत गन्नु परेको छ।

त्यसैले अहिले ट्राफिक प्रहरीले कारबाहीले होइन सचेतनाले नियम पालना गराउन लागि परेको छ। आजबाट सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान थालेको छ। अब ट्राफिक प्रहरी कारबाहीसँगै कोरोना सम्बन्धित सचेतना लेखिएका प्लेकार्ड लिएर सडकका चोक चोकमा बस्ने छन्।

महाशाखा लगायत मातहतका ३४ वटा ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरीहरू परिचालन गरिएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।

'कारबाहीमा मात्र होइन अब चालक समेत आफैँ सचेत हुनुपर्छ भनेर यस्तो अभियान लिएर आएका हौँ,' एसएसपी ढकालले भने।

जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्य मुख्य चोक एवम् भिडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउन, सामाजिक दुरीको पालना गराउन तथा सवारी साधनहरूमा हुने भिडभाड कम गराउनका लागि प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली खटिने छन्।

यसको लागि प्लेकार्डमा सधैँ मास्क लगाएर यात्रा गरौँ, जोर बिजोर नियम पालना गरौँ, सवारी साधनमा सामाजिक दुरी कायम गरौँ, जथाभाबी हिँडडुल नगरौँ र ट्राफिक नियमको पालना गरौँ जस्ता कुराहरू लेखिएका छन्।

काठमाडौँ उपत्यकाको ८२ स्थानमा २०० भन्दा बढी ट्राफिक प्रहरीहरू परिचालन गरिएको छ। आजदेखि दैनिक बिहान ०९:०० बजेदेखि ११:०० बजेसम्म र बेलुकी ०४:०० बजेदेखि ०७:०० बजेसम्म  प्लेकार्ड देखाउने विशेष टोली परिचालन गरिएको एसएसपी ढकालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell