.jpg)
काठमाडौं : अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दैनिक आम्दानीबाट राज्य सञ्चालन खर्चसमेत धान्न नसक्ने अवस्थामा पुगेको स्वीकार गरेका छन्। आइतवार प्रतिनिधिसभामा अर्थमन्त्री डाक्टर खतिवडाले निष्क्रिय कोषमा रहेका रकम तान्न लागेको बताए।
लकडाउन सुरु हुँदा पर्यटन क्षेत्रमा त्यसको प्रभाव पर्ने र राष्ट्रिय अर्थतन्त्रमा त्यसको ठूलो हिस्सा नभएकाले मुलुकमा ठूलो असर नपर्ने दावी गरेका अर्थमन्त्री खतिवडाले अहिले भने मुलुकको आर्थिक स्वास्थ्य खराव अवस्थामा पुगेको बताएका हुन्।
राज्य संचालनका लागि ४० अर्ब रुपैयाँ प्रति महिना चाहिने बताउँदै उनले जेठ महिनाको आम्दानी र खर्चको हिसाब गर्दा खर्च धान्न नसक्ने अवस्था आएको बताए। कोरोना संक्रमणसँगै गरिएको लकडाउनका कारण राजस्व संकलन प्रभावित भएको छ। राजस्व संकलन प्रभावित भएपछि कर्मचारीको तलब लगायतको चालु खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेको हो।
हालसम्म सरकारले १ खर्ब ६५ अर्ब आन्तरिक ऋण उठाइसकेको छ। आइतवारसम्म सरकारको ७ खर्ब आम्दानी हुँदा खर्च भने ८ अर्ब ७६ करोड पुगेको छ। आम्दानी र खर्चको अन्तर १ खर्ब ७६ अर्बले कम छ।
लामो लकडाउनले सरकारी कोषमा राजस्व दाखिला कम भएको छ। कर उठाउने प्रयासमा पनि सरकारलाई सर्वोच्च अदालतले अवधि तोकेर करकाप नगर्न आदेश गरेपछि खर्च धान्न गाह्रो परेको हो।
'मासिक ४० अर्ब राजस्व संकलन गर्न सक्ने अवस्था छैन,' उनले भने। सरकारको तथ्यांक अनुसार भन्सार विभागबाट मासिक १५ अर्ब राजस्व संकलन हुने गरेको छ। यस्तै केही अर्ब आन्तरिक राजस्वबाट संकलन हुन्छ। 'हामी चालु खर्च धान्न राजस्वबाट असफल हुँदै गएका छौं। यसका लागि केही कोषहरुको रकम चलाउने प्रयास गरेका छौं,' उनले भने।
खर्च जुटाउन सरकारले रोयल्टी रकमहरु तान्ने तयारी गरेको उनले बताए। यी रकम कानुन अनुसार नै राजस्वमा दाखिला गर्न सरकारले कोषहरुलाई आग्रह गरेको छ।
ग्रामीण दूरसंचार कोषको रकम नतानिने भए पनि अन्य किसिमको रोयल्टी भने नेपाल दूरसंचार प्राधिकरणले सरकारको राजस्वमा दाखिला गर्नुपर्ने मन्त्री खतिवडाले बताए। यस्तै निष्क्रिय कोषमा रहेको रकम समेत तान्ने प्रयास सरकारले गरेको उनले बताए।
'सरकारले राजस्वबाट संकलित रकम विभिन्न मुद्दतिमा गएर जम्मा हुने र नियमित खर्च चलाउन आन्तरिक ऋण उठाउनु पर्ने अवस्था छ अब यो कुराको अन्त्य गर्नुपर्छ,' उनले भने।