PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रधानमन्त्री बिरामी, सचिवालय बैठक स्थगित



कुञ्जरमणि भट्टराई

प्रधानमन्त्री बिरामी, सचिवालय बैठक स्थगित

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बिग्रिएपछि आजका लागि डाकिएको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्रीले अस्वस्थ रहेको जानकारी दिएपछि बैठक स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आज अपरान्ह चार बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो। 'प्रधानमन्त्री अस्वस्थ भएको भन्ने खबर आएको छ,' प्रवक्ता श्रेष्ठले भने।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने आफू बाहिर रहेको बताए। उनले प्रधानमन्त्री अस्वस्थ भएको आफूलाई जानकारी नरहेको बताए।

अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफलका लागि सचिवालय बैठक डाकिएको थियो। त्यसैका लागि एमसीसी कार्यदलका सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो। यसअघिको बैठकमा पनि रावल र ज्ञवाली सहभागी थिए।

'प्रधानमन्त्री विरामी हुनुहुन्छ,' नेकपाका वरिष्ठ नेता तथा सचिवालय सदस्य झलनाथ खनालले भने, 'अर्को बैठक कहिले हुन्छ छलफलपछि थाहा हुन्छ।'

विवादित बनेको एमसीसी कार्यदलले बुझाएको अध्ययन प्रतिवेदनबारे नेकपा सचिवालयमा छलफल हुन सकेको छैन। त्यसमाथि छलफल हुनुपर्ने नेताहरुको माग छ।

नेकपमा विवादित एमसीसीबारे छलफलका लागि गत जेठ २७ गते बोलाइएको सचिवालय बैठक स्थगित भएको थियो।

नेकपा चिवालयका अधिकांश सदस्यहरु यथास्थितिमा पास गर्न नहुने पक्षमा छन्। प्रधामन्त्री ओली एमसीसी पास गर्नुपर्ने पक्षमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell