PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

बसबाट क्वारेन्टाइनमा मानिस ओसार्ने चालकमै कोरोना, सास फेर्न कठिन भएपछि भेन्टिलेटरमा



एम बम

बसबाट क्वारेन्टाइनमा मानिस ओसार्ने चालकमै कोरोना, सास फेर्न कठिन भएपछि भेन्टिलेटरमा

कैलाली : धनगढीको नवजीवन अस्पतालको आइसीयुमा उपचार गराइरहेका एक पुरुषमा कोरोना पुष्टि भएको छ। कैलालीकै गोदावरी नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय पुरुषमा शनिवार राति ११ बजे कोरोना पुष्टि भएको हो। उनी बस चालक तथा बस धनीसमेत रहेको खुलेको छ। उनी सार्वजनिक यातायातका सदस्य समेत हुन्।

सास फेर्न कठिन भएपछि उनको उपचारमा भेन्टिलेटर प्रयोग गरिएको छ। कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल आएकालाई क्वारेन्टाइनसम्म ओसार्ने काममा सक्रिय उनी विगत दुई दिनदेखि नवजीवन अस्पतालको आइसीयूमा उपचार गराइरहेका थिए।

अस्पतालका निर्देशक डाक्टर विदुरमणि ढकालले इमरजेन्सी केस भएका कारण शनिवार राति धनगढीस्थित प्रयोगशालामा जाँच गर्दा उनीमा कोरोना पुष्टि भएको बताए।

उनमा कोरोना पुष्टि भएपछि सम्पर्कमा आएका नवजीवन अस्पतालको आइसीयूमा कार्यरत सबै स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको निर्देशक ढकालको भनाइ छ। ढकालले सङ्क्रमण पुष्टि भएका पुरुषलाई राति नै सेती प्रादेशिक अस्पतालको आइसियुमा सारिएको जानकारी दिए। त्यही उनको स्वास्थ्य अवस्था थप खराब भएपछि भेन्टिलेटर प्रयोग गरिएको हो।

उपचाररत बिरामीमा कोरोना पुष्टि भएपछि नवजीवन अस्पतालको आइसीयू समेत सिल गरिएको छ। उनको सेतीको कोरोना अस्पतालको आइसियुमा उपचार थालिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।

यसैबीच उनी नवजीवनमा उपचारका लागि जानु एक दिन अघि उपचारकै लागि धनगढीकै माया मेट्रो अस्पताल पुगेको समेत खुलेको छ। उनले माया मेट्रो अस्पतालको ओपीडीमा जाँच गराएका थिए। त्यहाँ उनको सम्पर्कमा आएका ३ जना स्वास्थ्यकर्मी आइसोलेसनमा गएका छन् भने एक जना चिकित्सक र दुई जना नर्स सेल्फ आइसोलेसनमा गएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell