धुमिल विगत आँसुको थोपा बनेर उडिरहेछ
असीम सपनाहरुले मुस्कानलाई आकार दिइरहेका छन्,
र, क्षणभरको जीवन
यी दुई बीच मोलतोल गरिरहेछ…
अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम कविता बन्यो यो। गत बुधवार इन्स्टाग्राममा पोस्ट गरेका थिए। तस्विरसहित। जसमा उनकी आमा र सुशान्त स्वयंको फरक फोटोहरु कोलाज गरिएको छ। श्यामश्वेत तस्विरमा उनले ह्यासट्यागमा लेखेका छन् 'माँ।'
सुशान्तकी आमाको सन् २००२ मा निधन भएको हो। त्यस समय सुशान्त उमेरले १६ वर्षका थिए। मृत आमाको सम्झनामा उनले सामाजिक सञ्जालमा विभिन्न पोस्टहरु सेयर गरिरहेका हुन्छन्।
यसअघि उनले आफ्नै तस्विरमा आमालाई सम्बोधन गर्दै कविता लेखेका थिए :
तिमी छँदा म पनि थिएँ,
अब त म स्वयं पनि सम्झनामा मात्र छु
छायाँजस्तै…
सुशान्तले आइतबार आत्महत्या गरे। उनलाई मुम्बई प्रहरीले बान्द्रस्थित अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। उनको मृत्युको कारण पत्ता लागेको छैन। अपार्टमेन्टमा फेला परेका केही रिपोर्टहरुका अनुसार उनी केही समययता डिप्रेसनमा रहेको जनाइएको छ। उनको पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी नै छ।
भारतीय टेलिश्रृङ्खला 'किस देशमे हे मेरा दिल', 'पबित्र रिश्ता' लगायतबाट चर्चामा आएका सुशान्त ठूलो पर्दामा पनि सफल स्थापित हुँदै थिए। ३४ वर्षीय उनले सन् २०१२ को हिट् 'काइ पो चे'बाट बलिउड डेब्यु गरेका हुन्। 'महेन्द्र सिंह धोनी : द अनटोल्ड स्टोरी', 'शुद्ध देशी रोमान्स', 'पीके', 'केदारनाथ' लगायत फिल्ममा काम गरेका छन्।
उनले पछिल्लो समय 'छिछोरे'मा काम गरेका थिए। नितेश तिवारी निर्देशित फिल्ममा गरेको कामबाट सकारात्मक टिप्पणी पाएका थिए। त्यस्तै हाल उनी मुकेश छाब्राको 'दिल बेचरा'मा काम गर्दै थिए। लकडाउनका कारण फिल्म निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन।
लकडाउन सुरु भएसँगै सुशान्त मुम्बईमा एक्लै बस्दै आएका थिए।