परासी : नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)मा आइतवार भएको सवारी दुर्घटनामा प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ। गाउँपालिकाबाट सदरमुकाम परासीतर्फ आउँदै गरेको गाउँपालिकाकै लु १ झ ३७० नम्बरको स्कार्पियो पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका-४ लक्ष्मीनगरस्थित कल्भर्टमा ठोक्किएर पुलको तल खसेको थियो।
दुर्घटनामा परी गम्भीर घाइते गाउँपालिका अध्यक्ष ५२ वर्षीय शर्माको बर्दघाटस्थित चिसापानी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए। सोही गाडीमा सवार प्रतापपुर–५ का हरिलाल राजभर घाइते छन्। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।
संघीय मामिलामन्त्रीद्वारा दुःख व्यक्त
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले प्रतापपुर गाउँपालिकाका अध्यक्ष शर्माको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन्। मन्त्री त्रिपाठीले आइतवार शोक वक्तव्य जारी गर्दै शर्माको आत्माको शान्तिको कामनासहित श्रद्धाञ्जलि अर्पण गरेका हुन्।
शोक वक्तव्यमा गाउँपालिकामा शर्माले पुर्याएको योगदान र उनले निर्वाह गरेको समन्वयकारी भूमिकाको प्रशंसा गरिएको छ।
जिसस र स्थानीय तह सोमवार बन्द
शर्माको निधनमा शोक व्यक्त गर्न जिल्ला समन्वय समिति र सातै स्थानीय तह सोमवार एक दिन बन्द गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका संयोजक शिवशंकर रायले जानकारी दिए।
परासीस्थित विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन आउने क्रममा आफैँले चलाएको स्कार्पियो कार बर्दघाट–४ मा दुर्घटना हुँदा शर्माको निधन भएको हो।