PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

बंगलादेशबाट २५८ नेपाली फर्किए स्वदेश, सोमवार माल्दिभ्सबाट नागरिकको उद्धार गरिने



रासस

बंगलादेशबाट २५८ नेपाली फर्किए स्वदेश, सोमवार माल्दिभ्सबाट नागरिकको उद्धार गरिने
फाइल फोटो।

काठमाडौं : बंगलादेशमा अलपत्र परेका २५८ नेपालीलाई उद्धार गरी आइतवार स्वदेश फर्काइएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले बंगलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौं ल्याएको हो।

ढाकामा जम्मा भएका नेपाली लिन आइतवार नै निगमको वाइड बडी ‘ए’ ३३० जहाज गएको थियो। नेपाली बोकेर वाइड बडी जहाज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। ढाकाबाट २५८ यात्रु लिएर निगमको जहाज फर्किएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए।

निगमको पूर्वनिर्धारित तालिकाअनुसार निगमको जहाजले सोमवार माल्दिभ्सको मालेबाट नेपाली ल्याउनेछ। विदेशबाट उद्धार गरेर ल्याइएकालाई काठमाडौँ उपत्यकाका सम्बन्धित प्रदेशअनुरुपको पूर्वव्यवस्था गरिएको क्वारेन्टाइन स्थलमा राखी स्वास्थ्य परीक्षण प्रक्रिया पुर्‍याएर गन्तव्यमा पठाइनेछ।

विदेशमा अलपत्र परेका नेपालीलाई आइतवारदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइएको हो। विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन्।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करीब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाइसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो। त्यस्तै, २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell