PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

जसले विकट भोटेनाम्लाङका छात्राहरुलाई जोडे फुटबलबाट...



मुकुन्द घिमिरे

जसले विकट भोटेनाम्लाङका छात्राहरुलाई जोडे फुटबलबाट...

काठमाडौंमै हुर्किए बढे, यतै पढे-मिङ्मा तेन्जिङ केसी। तर, पेशा सम्हालन पुगे सिन्धुपाल्चोकको विकट गाउँ भोटेनाम्लाङ।

शिक्षक बन्छु भन्ने सोचेका पनि थिएनन्, मिङ्माले। तर, भइदियो त्यही।

इङ्ग्ल्यान्डका लेखक आरआई फिट्ज हेनरीले भनेका छन् : अनिश्चितता र रहस्य जीवनका शक्तिहरु हुन्।

त्यस्तै अनिश्चितताले डोर्‍याएपछि मिङ्माले जीवनका धेरै रहस्यहरु बुझ्ने अवसर पाए। काठमाडौंको निजी स्कुल कलेजमा पढेका मिङमा 'टिच फर नेपाल' को माध्यमबाट पुगे भोटेनाम्लाङ।

टिच फर नेपालले युनिभर्सिटी ग्राजुएटहरुलाई विभिन्न जिल्लामा शिक्षणका लागि पठाउँछन्। सामुदायिक विद्यालको शैक्षिक गुणस्तर सुधार्ने संस्थाको लक्ष्य।

+++

ब्याचलर इन सोसल वर्क(बिएसडब्लु)सकेपछि २ वर्षअघि सिन्धुपाल्चोक पुगेका २५ वर्षे मिङमालाई मास्टर्स गर्न ढिला भएकोमा पछुतो छैन। भन्छन्, 'यो बीचमा मैले जति नयाँ कुरा सिकेँ। सायद मास्टर्स पढेको भए सिक्न पाउने थिइनँ।'

'माइ फर्स्ट जब इज टु चेन्ज द नेसन' यही भनाइबाट प्रेरित मिङमा

काठमाडौंबाहिर जाने प्रभाव आफ्ना अभिभावकबाट मिलेको बताउँछन्।

'मेरो अभिभावक शिक्षित हुनुहुन्न। किन उहाँहरु शिक्षित हुनुहुन्न भन्ने बुझ्दा त त्यतिबेला अहिले जस्तो शिक्षाको पहुँच रहेनछ,' उनले भने, 'मेरो आमाले जहिल्यै तिमीहरुले जस्तो पढ्न पाएको भए त के के गरिसकेको हुन्थेँ भन्नुहुन्छ।'

त्यस्तो सुनेर चाहिँ केही गर्नु पर्नेरहेछ भन्ने भावना पैदा भएको उनी बताउँछन्।

'१२ सकेपछि युएसका लागि ४ पटक प्रयास पनि गरेँ, बुबाको करमा। मन नलागी नलागी ट्राइ गरेको। भएन पनि,' हाँस्दै उनले सुनाए।

अनि जोइन गरे ब्याचलर। त्यहाँ उनले बुझे - ओहो मानिसहरु त कलेजकै पैसा तिर्न नसक्ने पनि हुने रहेछन्। बाहिरबाट काठमाडौं आएर पढ्नेहरुको त संघर्ष हुँदो रहेछ। म त एउटा 'बबल' मा पो बाँचिरहेको रहेछु भन्ने लाग्यो।

+++

भोटेनाम्लाङ बसाईको शुरुवाती दिन दिक्क लाग्दो लागेछ उनलाई।

'सुरुमा १/२ महिना बसेपछि त पूरै फ्रस्टेट भएको थिएँ। केही पनि छैन,' शुरुवाती दिन सम्झिए मिङ्माले, 'ट्वाइलेटमा धारा छैन। कहाँबाट पानी ल्याएर जानुपर्ने हो?लुगा धुन खोलामा जानु पर्ने।'धेरै कुरा अनौठो लागिरहेको थियो। बिस्तारै बानी पर्दै गयो।

'स्कुलमा ४/५ सय विद्यार्थी र ट्वाइलेट दुईटामात्र छ। २० जना शिक्षक छन्,' उनले सुनाए।

गाउँमा धेरै कुराहरु उनलाई एकदमै नयाँ लागिरहेको थियो।

'मैले काम गरेको ठाउँ त तामाङ गाउँ। त्यहाँ चाहिँ मान्छे झगडा गर्ने होहल्ला गर्ने पनि चलिरहन्थ्यो। टोलको मान्छेहरु नि हेरिरहने के,' मिङमाले थप्दै गए, 'बच्चाहरु भएकै ठाउँमा आमाबाबु त्यहीँ बसेर रक्सी चुरोट खाइदिने। यहाँको भन्दा धेरैकुरा फरक।'

त्यहाँको जीवनशैली नै फरक। उनलाई लाग्यो - गाउँमा बुढापाकाहरुको माइन्ड सेट त फेर्न सकिँदैन बरु राम्ररी शिक्षा दिन सक्ने हो भने नयाँ पुस्ताको राम्रो हुन सक्छ।

छोरी मान्छेको पढाइलाई 'सेकेन्डरी' रुपमा पुर्‍याएको उनले अनुभव गरे। त्यहाँ बच्चाहरु पनि पढाइभन्दा विदेश जाने या अरु कुनै काममा जाने ध्यानमा रहेको पाए उनले।

+++

अनि सुरु भयो फुटबलका कुरा

व्यवसायिक रुपमा फुटबल नखेले पनि पहिलेबाटै फुटबलमा रुची थियो उनको। सामान्य फुटबल र फुटसलमा भने ब्यस्त रहन्थे।

फुटबल खेलाउने सोच उनको त्यतिबेला आयो जब उनले त्यहाँको सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलाप शून्यप्राय देखे।

'मैले पढ्दा त फुटबल पनि खेल्न पाइने, बास्केटबल पनि, स्वीमिङ पनि, अरु खेलहरु पनि खेल्न पाइने,' उनी सम्झन्छन्, 'अहिले पो महसुस हुन्छ ती खेलहरु खेलेर धेरै स्किलहरु बनेको रहेछ।'

डरसँग कसरी जुध्ने, आत्मविश्वास, समन्वय,समस्यासँग कसरी जुध्ने, टिमवर्क कसरी गर्ने जस्ता स्किलहरु खेलबाटै पाइएको महसुस मिङ्मालाई भयो। रिसर्चहरुले पनि त्यही देखायो।

त्यही भएर उनले खेलकुदको माध्यमबाट विद्यार्थीहरुलाई सिकाउने निधो गरे। उपयुक्त लाग्यो फुटबल।

'त्यहाँका केटीहरु पनि डराउने, लजाउने या कन्फिडेन्ट नभएको पाएँ। तर फुटबल खेल्ने भनेको। हुन्छ भने,' मिङ्माले सुनाए।

उनले फुटबल नै छान्नुको एउटा अर्को कारण थियो - एकैपटकमा धेरै जनालाई व्यस्त बनाउन सकिने र टिमवर्क। धेरै कुराहरु सिकाइरहनु पनि नपर्ने भएकाले उनलाई फुटबल उपयुक्त लाग्यो।

+++

अनि सुरु भए संघर्षका कुरा

'किन केटीहरु नै?' उनले फुटबल सिकाउन थाल्दै गर्दा उठेको पहिलो प्रश्न थियो यो। यसमा मानिसहरुको हेर्ने दृष्टिकोण फरक थियो।

स्कुलका शिक्षकहरुले पनि यसमा सहयोग गरे। उनले अहिले केही नभए पनि एकदुई वर्षमा राम्रो हुन्छ भनेर कन्भिन्स गराए।

मुख्य चिन्ता थियो कोही घाइते भए के गर्ने?

अर्को चुनौती अभिभावकसँगको समन्वय। अभिभावकले खेल्न नदिने भन्दा पनि घरको काम गर्नुपर्ने हुन्थ्यो केटीहरुले।

'छोराले जे गरेनी मतलब भएन। छोरीले जहाँ त्यहीँ जानुहुँदैन। काम गर्नुपर्छ भन्ने थियो,' उनी सम्झन्छन्, 'यसमा अभिभावकहरुले बच्चालाई मौकै नदिने। स्पोर्टसँग आपत्ती भन्दा पनि काम छुट्ने भय। केटीहरु आफ्नो जिम्मेवारीको काम गर्नै पर्ने।'

खेल सिकाउन पनि सजिलो थिएन। केटाहरुले फुटबल खेलिरहने हुँदा फुटबलका सामान्य नियम र अवधारणाबारे खासै मेहेनत गर्नुपर्दैन थियो होला। तर, केटीहरुको पोजिसनदेखि पाससम्म निकै मेहेनत गर्नुपर्‍यो।

'त्यसमा पनि टेक्निकल कुराहरु एकै ठाउँ नझुम्मिनेदेखि एसिस्ट गर्नेसम्म सबै सिकाउनुपर्ने अवस्था थियो,' उनले सुनाए।

त्यसमाथि परिवर्तन एकैछिनमा होस् भन्ने ठान्छन् धेरैले। 'कसरी हुन्छ र तेस्तो त?,' उनी आँफैसँग प्रश्न गर्छन्।

'वार्म अप गर भन्यो। त्यतिकै खेल्न थाल्दिने के!,' फुटबल सिकाउँदाका चुनौती सम्झे उनले।

सुरुसुरुमा अप्रत्यक्ष या अप्रत्यक्ष रुपमा फुटबल सिकाएकोमा असन्तुष्टिबारे पनि उनले थाहा पाउँथे।

'घरमा काम भइरहेको हुन्छ।'

'मेरो छोरी घाइते भइदियो भने?'

अभिभावकले यस्ता प्रश्न उठाउने गरेको विद्यार्थीबाट सुन्थे।

मैदान थियो उस्तै।

'ढुंगैढुंगा भएको मैदान। खेल्न सिक्दै गरेकाले हान्दा ढुंगामै लाग्दिने,' उनले भने, 'अर्को समस्या सिकाउँदै गरेका छात्राहरुको भाइबहिनीहरुले उसले आज कामै गरेन। घाँस पनि ल्याएन भन्दिने।'

यतिमात्र होइन स्कुलमा विद्यार्थीहरु आधा घन्टा, पैतालिस मिनेट ढिला आउँथे कहिलेकाहीँ।

अनि यसको मुख्य कारण देखियो फुटबल।  फुटबलको लागि उनलाई हुरिकेन फाउन्डेसन भन्ने संस्थाको सहयोग छ।

+++

रेफ्री थर्काउने प्रतियोगिता

मिङमाले छात्रालाई फुटबल त सिकाए तर उनलाई एउटा अभाव खड्कियो प्रतियोगिताको। प्रतियोगिता नगराउने हो भने खेलमा मोटिभेसन मिल्दैन।

उनी प्रतियोगितालाई एउटा प्लेटफर्मका रुपमा विकास गर्न चाहन्छन्।

'बच्चाहरुको मानसिकता हुँदो रहेछ, हामी यो किन गरिरहेका छौं?,' उनी भन्छन्, 'गर्‍योगर्‍यो अनि देखाउने ठाउँ भएन भने मजा नहुने रहेछ।'

उनको बुझाइमा फुटबलले जित र हारको अनुभव सिकाउँछ। पढेरभन्दा पनि अनुभवबाट बच्चाले छिटो सिक्ने उनको बुझाइ छ।

'फुटबलले गर्दा बच्चाले जित र हार अनुभव गर्छ। जित्दा मैले नि जित्न सक्ने रहेछु भन्ने हुन्छ। हार्दा हार स्वीकार्ने पनि हुने रहेछ,' उनले भने।

तर 'हार स्वीकार्ने' भन्ने उनको कुरा उनी त्यहाँ रहँदै फुटबलमै लागू हुन सकेन।

उनले एउटा अनभव सुनाए - स्कुलस्तरीय महिला फुटबल गराउँदा अरु स्कुलबाट जित्ने पर्ने गरी बच्चाहरुलाई दबाव दिएको उनले देखे।

'के गरेको त्यो, खेल्न आउँदैन तलाईँ भनेर थर्काइदिने!' उनले भने।

त्यहाँबाट उनलाई लाग्यो हाइ स्कोरर अवार्डहरु भन्दा पनि फेयर प्ले अवार्ड, डिफेन्सिभ प्लेयर अवार्डहरुमा जोड दिनुपर्ने रहेछ। विनर मेन्टालिटीले अलि करप्ट बनाउने रहेछ।

उनले बोलाएको रेफ्रीको अवस्था झन् बिजोग थियो। 'गाउँलेले नि थर्काउने। कोचले नि थर्काउने। भोलिदेखि त्यो गाउँको बाटै हिँड्न डरलाग्‍ने गरी।'

अनि आए परिवर्तनका कुरा

तत्काल परिवर्तन भनेको चाहिँ कक्षामा आउन प्राथमिकता दिनुलाई नै मान्छन् उनी। बच्चाहरु कक्षामा आउनभन्दा मेलापातलाई प्राथमिकता दिने गरेको उनले पाएका थिए।

'युनिट टेस्टहरुमा आउँदै आउँदैन भनेर गर्दै नगर्ने बच्चाहरुको माइन्ड सेट नै थियो। त्यसमा चाहिँ परिवर्तन भएजस्तो लाग्छ,' उनले भने।

त्यस्तै दीर्घकालीन भनेको पढाइमा ध्यान दिन थालेको देखि समन्वय, निर्णयहरुमा सुधार भएको अनुभव उनलाई छ।

अबको योजना

सिन्धुपाल्चोकमा आफूले सिकेको कुरालाई अघि बढाउने योजना मिङ्माको छ।

उनी फुटलिड नेपाल भन्ने गैरनाफामुलक संस्था खोल्ने योजनामा छन्।

'यसको मुख्य आइडिया भनेकै सिन्धुपाल्चोकमा मैले जे गरेँ त्यही गर्ने हो,' उनले भने, 'यसबाट बच्चाहरु नयाँ मेहेनत, टिमवर्क, निर्णय क्षमतालगायतका क्षेत्रमा क्षमताको विकास गराउने भन्ने हो।'

उनको योजना फुटबल र यसको स्किलमात्र नभइ अन्य समग्र पक्षमा विशेष जोड दिने योजना छ।

'जस्तो प्राय बच्चाहरुले म्याथ आउँदैन भन्ने गर्छन्। तर बसेर अभ्यास गर्‍यौ र आएन भन्ने सिकाउन सकिन्छ,' उनले थप स्पस्ट पार्दै भने, 'उनीहरुलाई फुटबलबाट गर्दै नगरेपछि आउँदै आउँदैन गरेपछि बिस्तारै आउँछ भनेर सिकाउने हो।'

त्यस्तै सामुदायिक विद्यालमा विद्यार्थी शिक्षक सबैलाई यसअन्तर्गत रहेर तालिम गराउने उनको योजना लिएका छन्। उनको आत्मविश्वास देख्दा लाग्छ केही गर्छन् उनले।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell