PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

आजबाट फेरिएको लकडाउन मोडालिटी : कार्यालय दुई सिफ्टमा, जोरबिजोरमा सवारी



पहिलोपोस्ट

आजबाट फेरिएको लकडाउन मोडालिटी : कार्यालय दुई सिफ्टमा, जोरबिजोरमा सवारी

काठमाडौं : आजबाट केही क्षेत्रहरुमा फेरिएको लकडाउन मोडालिटी लागू हुँदैछ। काठमाडौं उपत्यका लगायत अधिकांश जिल्लामा यो मोडालिटी लागू हुन लागेको हो। तर, कोरोना संक्रमित संख्या धेरै भएका जिल्लामा भने पूर्ण लकडाउनको नीति नै अपनाइएको छ।

गत बिहीवार सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले ८० दिनपछि सरकारले मोडालिटीमा परिवर्तन गरेको जानकारी दिए। सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको समय आइतवार रातिबाट सकिएको हो। आज बिहानैबाट नयाँ मोडालिटी अनुसार व्यापार, व्यवसाय, उद्योगधन्दा संचालन हुनेछन्।

आजबाट सरकारी कार्यालयहरु संचालनमा आउनेछन्। यसरी संचालनमा आउने कार्यालयहरुले दुई सिफ्ट गर्नुपर्ने छ। बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एउटा सिफ्ट, त्यसपछि ६ बजेसम्म अर्को सिफ्ट संचालन गर्नुपर्ने छ। तर, यसरी कार्यालय संचालन गर्दा पूर्ण सजहकता अपनाउनुपर्ने छ।

त्यस्तै, बैंक, वित्तीय तथा अन्य निजी कार्यालयहरु पनि आजबाट संचालन गर्न पाइनेछ। यसरी निजी कार्यालयका लागि आवश्यक कर्मचारी बोक्ने सवारीमा पनि जोरबिजोर प्रणाली लागू हुनेछ। सवारीको सिटमा पनि सामाजिक दूरी कायम गरेर संचालन गर्नुपर्ने छ।

निजी सवारी साधनमा भने काठमाडौं उपत्यकाभित्रको हकमा भने शुक्रवारबाट नै जोरबिजोर प्रणाली लागू भएको छ। चार पाङ्ग्रे सवारीमा चालक सहित तीन जना र मोटरसाइकलमा चालकमात्र रहन पाउने व्यवस्था गरिएको छ। शुक्रवार नै निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू भए पनि मोटरसाइकलको हकमा प्रष्ट नहँदा मानिस झुक्किएका थिए। महानगरीय ट्राफिक प्रहरी महाशाखाकाले मोटरसाइकलमा पनि जोरबिजोर लागू हुने भन्दै कारबाही सुरु गरेको थियो।

तर, स्थानीय प्रशासनले मोटरसाइकलमा नहुने भन्दै आएको थियो। यसले कार्यन्वयनमा समस्या देखिएको थियो। त्यसपछि सरकारको निर्णय अस्पष्ट भएको भन्दै रिभ्यूका लागि पठाइएको थियो। त्यसपछि गृह मन्त्रालयले मोटरसाइकलमा समेत जोरबिजोर लागू हुने स्पष्ट पारेको छ।

अझ पनि सार्वजनिक सवारी साधन भने संचालन हुन पाउने छैनन्।

मोडालिटी फेरिए पनि शैक्षिक संस्था, अनुमति पाएका बाहेक आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान, सिनेमा हल, पार्टी प्यालेस, सैलुन, व्युटी पार्लर, सपिङ मल भने संचालन गर्न पाइने छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell