काठमाडौं : लिम्पियाधुरा समेटिएको नक्सा जारी भएपछि भारतले तराईका सीमामा निगरानी बढाएको छ। सशस्त्र सीमा बलका अधिकारीहरुले उत्तर प्रदेशको लखिमपुर जिल्ला मजिस्ट्रेटलाई भारत-नेपाल सीमामा सीमास्तम्भ गायव भएको जानकारी दिएको औपचारिक रुपमा बताएका छन्।
सीमा स्तम्भ हराएको भन्दै उनीहरुले रिपोर्टमा नेपालले थप पाँच बोर्डर आउटपोस्ट (बीओपी) थप गरेको जनाएका छन्। कोरोना संक्रमित अनियन्त्रित हिसाबले भित्रन थालेपछि सीमामा सशस्त्र प्रहरी परिचालन गरिएको छ। सशस्त्र प्रहरीको परिचालनसँगै भारतीय सीमा सुरक्षा बलले पनि सीमा हाइ अलर्ट जारी गरेको छ।
टाइम्स अफ इन्डियाका अनुसार लखिमपुर खेरी जिल्लाको नेपालसँग ६२.९ किलोमिटर सीमा जोडिएको छ। हालै एसएसबी कमाण्ड मुन्ना सिंहले लखिमपुरका डिस्ट्रिक मजिस्ट्रेट सैलेन्द्र सिंहलाई पत्र लेखेर हराएका पिल्लरबारे जानकारी दिएका हुन्।
नेपालको कैलाली र कञ्चनपुर जिल्लासँग जोडिएको छ लखिमपुर खेरी। सीमाको विषयमा नेपाल भारत सम्बन्ध चिसिएपछि पूरै सीमा क्षेत्रमा हाइ अलर्ट गरिएको समाचारमा उल्लेख छ।
सीमा सुरक्षा बलका अधिकारीले नेपालमाथि आक्षेप लगाउँदै दशगजामा नेपालीहरु रहेको र भारतीय भूमिसमेत अतिक्रमणमा परेको रिपोर्ट गरेका छन्।