PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

कैलालीको क्वारेन्टाइन प्रकरण : स्वास्थ्यकर्मी र स्वयम सेवक नै संलग्न, वडा कार्यालय नै बन्द



एम बम

कैलालीको क्वारेन्टाइन प्रकरण : स्वास्थ्यकर्मी र स्वयम सेवक नै संलग्न, वडा कार्यालय नै बन्द

कैलाली : कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ को क्वारेन्टाइनमा भएको सामूहिक बलात्कार प्रकरणलाई लिएर वडा कार्यालयले सेवा बन्द गरेको छ। उक्त विषयलाई लिएर जनप्रतिनिधिहरुलाई गालीगलौज र कार्यालयमा तोडफोड भएको भन्दै वडा कार्यालयले कारवाहीको माग सहित सेवा बन्द गरेको हो।

वडाध्यक्ष जनकबहादुर बमले विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिलाई गालीगलौज गरी तोडफोड गर्ने व्यक्तिलाई पक्राउ गरी कारवाही नगरेसम्म वडा कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द हुने जानकारी गराएका छन्। विज्ञप्तिमा उनले वडाका जनप्रतिनिधि र कर्मचारीको सुरक्षाको प्रत्याभूतिको मागसमेत गरेका छन्।

यस्तै, प्रहरीले सामूहिक बलात्कारमा संलग्न भनिएका युवक क्वारेन्टाइनमा स्वयसेवकका रुपमा खटिएको बताए पनि वडा कार्यालयले भने उनीहरु आफूखुसी काम गर्न क्वारेन्टाइनमा गएको दावी गरेको छ।

वडाध्यक्ष बमले जारी गरेको विज्ञप्तिमा उक्त घटनाप्रति खेद समेत व्यक्त गरिएको छ भने दोषीलाई कारवाहीको दायरामा ल्याएर पीडितलाई न्याय दिन माग पनि गरिएको छ।

लम्कीचुहा नगरपालिका वडा नम्बर १ को शहीद स्मृति माविको क्वारेन्टाइनमा बसेकी ३१ वर्षीया युवतीमाथि शनिवार राती तीनजनाको समूहले करणी गरेको आरोप लागेको छ। उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्षण विक र १८ वर्षीय सर्जन विक रहेको प्रहरीले जनाएको छ। उनीहरु मध्ये २ जना क्वारेन्टिनमा स्वयम सेवकको रुपमा खटिएका थिए भने एक जना स्वास्थ्यकर्मी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell