PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

वरिष्ठ उपाध्यक्ष नेम्बाङ नआएपछि एन्फा आपतकालीन बैठक स्थगित, के छ विधानमा?



पहिलोपोस्ट

वरिष्ठ उपाध्यक्ष नेम्बाङ नआएपछि एन्फा आपतकालीन बैठक स्थगित, के छ विधानमा?

काठमाडौं :  सोमबार दिउँसो १ बजे अखिल नेपाल फुटबल संघ (एन्फा) को आपत्कालीन समितिको बैठक आह्वान गरिएको थियो। तर, बैठकमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ अनुपस्थित रहे।

एन्फाले नेम्बाङको स्वास्थ्य अवस्थाका कारण बैठकमा उपस्थित हुन नसकेको उल्लेख गर्‍यो र बैठक स्थगित भएको जानकारी दियो। 

भक्तपुर जिल्ला फुटबल संघ,टासी घलेको पुनरागमन, कोभिड १९ राहत विषय र विविध गरी ४ विषयमा छलफल गर्ने तयारी थियो। विषय जे भएपनि मुख्य रुपमा वैठक बोलाउनुको एजेन्डा भने टासी घलेलाई मानार्थ अध्यक्षमा फर्काउनु नै रहेको बताइन्छ। 

तर, नेम्बाङ बैठकमा आएनन्। विधान अनुसार समितिको बैठक कुनैपनि एक सदस्यको अनुपस्थितिमा गर्न मिल्दैन। त्यसैले वरिष्ठ उपाध्यक्षको अनुपस्थितिमा आपतकालिन समितिको वैठक अवैधानिक हुने भएपछि बैठक नै स्थगित गरियो।

एन्फाले २०७५ माघ ३ गते 'टेप प्रकरण' चर्किएपछि घलेको मानार्थ अध्यक्ष पद फिर्ता लिएको थियो।

सोमबार स्थगित गरिएको बैठक एन्फाले मंगलवार २ बजेलाई बोलाएको छ।

के छ विधानमा ?

एन्फा विधानको परिच्छेद ११ मा आपतकालिन समितिबारे उल्लेख छ।

'कार्यसमितिको दुईवटा समयको बीचको समयमा उत्पन्न हुने तत्काल सुल्झाउनुपर्ने विवादहरुको निरुपणका लागि पाँच सदस्यीय आपतकालीन समिति गठन गरिने छ,' आपतकालिन समिति सम्बन्धी धारा ४३ मा भनिएको छ, 'सो आपतकालीन समितिमा एन्फा अध्यक्ष लगायत कार्यसमितिका ४ जना सदस्यहरु हुनेछन् र उनीहरुको कार्यकाल ४ वर्षको हुनेछ।'

त्यस्तै यसैको दोस्रो बुँदामा अध्यक्षले समितिको बैठक बोलाउने र समितिले निर्णयहरु गरेर कार्यसमितिलाई जानकारी गराउन सक्ने उल्लेख छ। आपतकालीन समितिको निर्णय तत्कालै तत्कालिन कानुनी प्रभाव सुरु हुने उल्लेख छ।

तर यो उक्त धाराको तेस्रो बुँदाका कारण आजको वैठक स्थगित हुन पुग्यो।

'आपतकालीन समितिका चारैजना सदस्यहरुले छलफलमा भाग नलिएसम्म छलफल बैध मानिने छैन,' तेस्रो बुँदामा लेखिएको छ, 'आपतकालीन समितिले निर्णय गर्दा खसेको मतको बहुमत द्वारा (५० प्रतिशत भन्दा बढि) गरिने छ। यदि मत बराबर भए अध्यक्षले निर्णायक मत दिनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell