PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

दार्चुलाको सडक भारतको भूमिमै भएको भारतीय रक्षामन्त्रीको दावी, भने : वार्ताको माध्यमबाट समाधान खोज्छौं



पहिलोपोस्ट

दार्चुलाको सडक भारतको भूमिमै भएको भारतीय रक्षामन्त्रीको दावी, भने : वार्ताको माध्यमबाट समाधान खोज्छौं

काठमाडौं : भारतका रक्षा मन्त्री राजनाथ सिंहले लिपुलेक क्षेत्र भारतकै रहेको दाबी गरेका छन्।

सोमवार उत्तराखण्डमा भएको भर्चुअल 'जन संवाद'लाई सम्बोधन गर्दै उनले मानसरोबर जानका लागि लिपुलेकसम्म लिंक रोडको निर्माण गरेको बताए। उक्त सडक भारतबाट मानसरोवार जानेका लागि कम समयमै यात्रा गर्न सकिने भन्दै थपे, '८० किलोमिटरको यो सडक भारतीय क्षेत्रमा नै बनेको हो। छिमकी राष्ट्र नेपाललाई यो सडकलाई लिएर केही गलत बुझाइ रहेको छ।'

नेपालसँग ऐतिहासिक, सांस्कृति र आध्यात्मिक सम्बन्ध रहेको भन्दै सिंहले दुई देशबीचको विवाद वार्ताको माध्यमबाट समाधान गर्ने बताए।

'हामी बाबा पशुपतिनाथलाई बिर्सन सक्दैनौं। पशुपतिनाथ, विश्वनाथ, सोमनाथ यी सबैलाई अमरनाथसँग कोही कसरी छुट्याउन सक्छ? यो सम्बन्ध यो लोकको मात्रै होइन दोस्रो लोकको हो। यो सम्बन्धलाई चाहेर पनि अरु कसैले परिवर्तन गर्न सक्दैन,' उनले भने।

सम्बोधनका क्रममा नेपालीको उपस्थिति रहेको गोरखा रेजिमेन्टको प्रसंग निकाल्दै रक्षामन्त्री सिहंले भने, 'गोरखा रेजिमेन्टले समय समयमा आफ्नो सौर्य र पराक्रम प्रस्तुत गरेको छ। 'जय महाकाली आयो रे!' गोरखाली रेजिमेन्टको उद्घोष छ।'

महाकाली भारतको कोलकत्ता लगायतका क्षेत्रमा समेत रहेको र उत्तराखण्डको गाउँगाउँमा महाकाली भक्त रहेको भन्दै उनले भने, 'धार्चुलामा जति पनि धारा (कानुनी व्यवस्था) लगाए पनि भारत र नेपालको सम्बन्ध कसरी टुक्रन सक्‍छ?'

संवादका क्रममा उनले दुई देशबीच रोटीबेटीको सम्बन्ध रहेको पनि बताए।

'नेपाल भारतको सम्बन्ध साधारण होइन। हामीबीच रोटीबेटीको सम्बन्ध छ। विश्वको कुनै पनि शक्तिले त्यसलाई टुक्राउन सक्दैन,' उनले भने।

यदि लिपुलेक र धार्चुलाबाट यो सडक बनेका कारण नेपालीहरुमा कुनै गलत बुझाइ छ भने त्यसलाई वार्ताको माध्यमबाट समाधान गर्ने उनले दोहोर्‍याए।

केही समयअघि पनि उनले नेपाल र भारतबीच पारिवारिक सम्बन्ध रहेको जनाउँदै आपसी सहमतिमा सीमामा देखिएको विषय टुंगो लगाउने बताए।

नेपालले संविधान संशोधन मार्फत् लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा अंकित निशान छाप प्रतिनिधिसभाबाट पारित गरेपछि भारतले नेपाली नक्सालाई 'कृत्रिम विस्तार' भनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell