PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

बजार व्यवस्थित पार्न वीरगंजमा शुरु भयो गृहकार्य, ‘भिडभाड यस्तै रहयो भने भोलि सम्हाल्न गाह्रो हुन्छ’



राधेश्याम पटेल

बजार व्यवस्थित पार्न वीरगंजमा शुरु भयो गृहकार्य, ‘भिडभाड यस्तै रहयो भने भोलि सम्हाल्न गाह्रो हुन्छ’

वीरगंज : सरकारले लकडाउन खोलेसँगै वीरगंज बजारमा चहलपहल बढेको छ। बजारमा दैनिक सयौँ मानिसको भिड बढेपछि सरोकारवाला निकाय चिन्तित बनेका छन्।

पछिल्लो समयमा नेपालको ७३ जिल्लामा कोरोना संक्रमण देखिएको र विभिन्न जिल्लाको क्वारेन्टाइनमा रहेका शंकास्पद संक्रमितहरूबाट कोरोना पुष्टि हुने क्रम तीव्र भइरहँदा वीरगंज बजार बिना नीतिनियम पूर्णरूपले खोल्दा जोखिम बढ्ने सक्ने विषयमा सुरक्षा निकाय, स्वास्थ्यकर्मीहरू, नागरिक समाज चिन्तित छन्। सो विषयमा  व्यवस्थित वीरगंज अभियानले हिजोका दिनजस्तै वीरगंज बजारलाई व्यवस्थित पार्ने विषयमा छलफल शुरू गरेको छ।

आइतवार साँझ आयोजित अन्तरक्रियामा पर्सा प्रहरी प्रमुख गंगा पन्त, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक कमलराज पण्डित, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, ग्रीनसिटी सामुदायिक केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, व्यवस्थित वीरगंज अभियानका सदस्य एवं होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त, वडा नम्बर ३ का अध्यक्ष बैजु स्वर्णकार, वडा नम्बर ४ का अध्यक्ष जगत साह कानूलगायतले बजारलाई व्यवस्थित गर्ने विषयमा आआफ्नो धारणा राखेका थिए।

कोरोना संकटसँग जुध्दै दैनिक जीवनमा अति आवश्यक काम सँगसँगै किनमेल गर्दा सावधानी अपनाउनुपर्ने, पसलमा जाने क्रममा पसलेले ग्राहकलाई के-कसरी सम्झाउने, वीरगंज बजारमा सवारीसाधनलाई कुन-कुन ठाउँमा पार्किङ स्थल तोकेर भिड कम गर्ने, सामाजिक सञ्जालको माध्यमबाट वीरगंजका उद्योगी, व्यवसायी, पसले, सर्वसाधारण तथा नागरिक समाजलाई कसरी सचेत पार्ने लगायतको विषयमा छलफल भएको व्यवस्थित वीरगंज अभियानका संयोजक दिलीपराज कार्कीले जानकारी दिए।

प्रहरी उपरीक्षक गंगा पन्तले वीरगंज बजारलाई व्यवस्थित नपारे भोलिको अवस्था अनियन्त्रित हुने भएकोले सरोकारवाला सबैले सहयोग गर्न आग्रह गरिन्। उनले बजारको चहलपहल, सामाजिक दूरी अनुसार र वीरगंजमा प्रवेश गर्ने सवारी साधनलाई बजारभन्दा केही पर पार्किङ स्थलमा पार्क गरेर पैदल घुमफिर गरी किनमेल गर्ने, व्यवस्थित वीरगंजका स्वयंसेवकहरूले वीरगंजका पसलेहरूलाई उच्च सतर्कता अपनाउनको लागि सहयोग गर्न आग्रह गरिन्।

वीरगंज उद्योग वाणिज्य संघका गोपाल केडियाले २ हजार व्यवसायी वीरगंजमा रहेको र एक दिनमा २५/२५ जना गरेर छुट्टाछुट्टै समूहमार्फत उनीहरूलाई बजार व्यवस्थापनको बारेमा परामर्श दिएर बजार सञ्चालन गर्नुपर्ने धारणा राखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell