PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

शम्भु मृत्यु प्रकरण : पूर्वमन्त्री मात्रिकाका भाइसहित आधा दर्जनविरुद्ध जाहेरी दर्ता



पहिलोपोस्ट

शम्भु मृत्यु प्रकरण : पूर्वमन्त्री मात्रिकाका भाइसहित आधा दर्जनविरुद्ध जाहेरी दर्ता

जनकपुरधाम : गत जेठ २७ गते राति हिरासतमा मृत्यु भएका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको परिवारले पूर्वमन्त्री मात्रिका प्रसाद यादवका भाइ, प्रहरी र वडाध्यक्षविरुद्ध सरकारी वकिल कार्यालयमा उजुरी दिएको छ।

शम्भुकी आमा सियालीदेवीले इलाका प्रहरी कार्यालय सबैलाका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) चन्द्रभूषण यादव, पूर्वउद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृका प्रसाद यादवको भाइ कारी यादव, सबैला नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पारस साह, वडा नम्बर ३ का वडाध्यक्ष सन्तोष साह, वडा नम्बर ४ बस्ने राजकुमार यादव, र सञ्जय साह तथा वडा नम्बर ३ बस्ने कालीप्रसाद साहविरुद्ध सरकारी वकिल कार्यालय जनकपुरमा जाहेरी दिएकी हुन्।

उनीहरुकै मिलेमतोमा छोराको हत्या भएको भन्दै ज्यान मुद्धामा कारबाही गर्न पनि उनले माग गरेकी छिन्। सियालीदेवीको जाहेरी सरकारी वकिल कार्यालयमा दर्ता भएको कार्यालयका नायब सुब्बा विनोद सुवेदीले जानकारी दिए। यसअघि पटक–पटक जिल्ला प्रहरी कार्यालयमा जाँदा पनि प्रहरीले जाहेरी दर्ता गरेको थिएन। प्रहरीले दर्ता नगरेपछि पीडित परिवार सरकारी वकिल कार्यालय पुगेको हो।

जाहेरीमा प्रहरीको निगरानीमा रहेको व्यक्तिले आत्महत्या गर्न नसक्ने भन्दै हत्या गरेर आत्महत्या जस्तो देखाइएको जिकिर गरिएको छ। सवारी ज्यान मुद्दामा हिरासतमा रहेका २२ वर्षीय शम्भु इलाका प्रहरी कार्यालय सबैलाको थुनुवा कक्षभित्र गत जेठ २७ गते राति झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

उनले चलाएको ट्र्याक्टरले गाउँकै एक महिलालाई ठक्कर दिँदा ज्यान गएपछि उनी थुनामा परेका थिए। जाहेरी दर्ता भएपछि मृतक शम्भु सदाको प्रादेशिक अस्पताल जनकपुरधाममा पोस्टमार्टम गर्न लागिएको छ। जाहेरी दर्ता नहुँदा पीडित परिवारले पोस्टमार्टम गर्न दिन मानेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell