PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

मेयर सरावगीको अभियान सफल : वीरगंजमा चार दिनमा पीसीआर ल्याब सञ्चालन हुँदै, २० हजार भीटीएम खरिद गर्ने तयारी



राधेश्याम पटेल

मेयर सरावगीको अभियान सफल : वीरगंजमा चार दिनमा पीसीआर ल्याब सञ्चालन हुँदै, २० हजार भीटीएम खरिद गर्ने तयारी

वीरगंज : पर्सामा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढिरहेको छ। संक्रमण पुष्टि धमाधम हुन थालेपछि वीरगंज महानगरपालिकाले पीसीआर परीक्षण मेसिन खरीद अभियान शुरु गर्‍यो। महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले ‘भिख मागेर’ भएपनि वीरगंजबासीलाई बचाउने अभिप्रायले यस्तो अभियान शुरु गरे।

नारायणी अस्पतालमा धमाधम संक्रमित भर्ना हुन थालेको र केन्द्र तथा प्रदेश सरकारले अस्पतालमा पीसीआर जडान गर्न ढिलाई गर्दा उनले निजी क्षेत्रबाट चन्दा संकलन गरेर भएपनि पीसीआर मेसिनसहितको ल्याब सञ्चालन गर्ने योजना अगाडि बढाएको बताए। अभियान अन्तर्गत अहिलेसम्म १ करोड ६० लाखभन्दा बढी सहयोग प्राप्त भएको र सहयोग आउने क्रम जारी रहेको मेयर सरावगी बताउँछन्।

पीसीआर मेसिन खरिदको लागि तीन दिने आशयपत्रको सूचना जारी भइसकेको र असार ३ गतेपछि ६३ लाख ८३ हजारमा टेन्डर परेको जेएचएस एनलाइटिक्स ट्रेडर्स काठमाडौंसँग सम्झौता गरेर मेसिन वीरगंजमा एक दिनमै जडान गर्ने लक्ष्य रहेको उनको दावी छ। महानगरको योजना शाखाका इन्जिनियर राकेश साहका अनुसार ५ वटा टेन्डर बिक्री भएकोमा तीनजनाले भरेको र ६५ लाख २४ हजारको टेन्डर आह्वान गरेकोमा सबैभन्दा कममा जेएचएसको टेन्डर स्वीकृत भएको छ।

यसैगरी जेठ ३२ मा महानगरले २० हजार भीटीएम, २ हजार आरएनए एक्स्ट्राक्सन किट, २ हजार आरटी पीसीआर कोभिड टेस्ट किट खरीद गर्ने टेन्डर आह्वान गरेको थियो। एक साताभित्र यी सामग्रीहरु खरिद प्रक्रिया पनि शुभारम्भ हुने र त्यसपछिको अवस्था वीरगंजको लागि सहज हुने मनपाका सामाजिक विकास महाशाखा प्रमुख अरुण महतोले बताए।

अहिले पीसीआर ल्याब सञ्चालन र स्वाब संकलनको लागि केन्द्र सरकारसँग दश जना स्वास्थ्यकर्मीसँग दरबन्दी माग गरेको उनले बताए। एउटा पीसीआर ल्याब सञ्चालनको लागि ६५ देखि ७० लाख मेसिनको र बाँकी गरेर करिब एक करोडको हाराहारीमा खर्च लाग्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell