
वीरगंज : लकडाउनका कारण अर्थतन्त्रको विविध क्षेत्रमा नकारात्मक असर परिरहँदा निर्माण क्षेत्र पनि नराम्ररी प्रभावित छ। एकातर्फ निर्माण योजनाहरु बन्द भएका छन् भने अर्कोतर्फ निर्माणजन्य सामग्री उत्पादन गर्ने उद्योगको अर्बौँ रुपैयाँ बजारमा फसेको छ।
फलामजन्य उद्योगमा मात्रै नेपालको करिब बीस वटा उद्योगमा २ खर्बको र सिमेन्ट उद्योगमा २ खर्ब गरी यी क्षेत्रमा चार खर्ब भन्दा बढीको लगानी पनि जोखिममा परेको उद्योगी अनिल रुंगटा बताउँछन्।
सिमेन्ट, छड, पाइप, जस्ता पाता, च्यानल, बिमलगायत उत्पादन गर्ने उद्योगहरुको बजारमा कम्तीमा ५० अर्ब रुपैयाँ फसेको उनको भनाइ छ। वीरगंज-पथलैया औद्योगिक करिडोरको जीतपुरमा रहेको जगदम्बा इन्टरप्राइजेजका सञ्चालक समेत रहेका रुंगटाले वीरगंजका करिब दुई दर्जन उद्योगको मात्रै नेपालभरको बजारमा २५ अर्ब फसेको जानकारी गराए।
योजना सुस्त गतिमा चल्नु, निर्माण व्यवसायीलाई सरकारले गर्ने भुक्तानीमा ढिलाइ, लकडाउनले गर्दा बिक्री भएको सामानको पैसा उठ्न नसक्नु र चेक तथा बिल बिजकबाट बिक्री भएको उधारोको बारेमा सरकारको स्पष्ट नीति नहुँदा उद्योगी, व्यवसायीको पैसा फसेको उनको विश्लेषण छ।
उनले लकडाउनको अवधिमा सरकारसँग निर्माणजन्य सामग्री उत्पादन गर्ने उद्योग विगत ६ महिनादेखि थला पर्दै गएको र लकडाउनले झनै उद्योगी पीडामा भएको कारणले लकडाउन अवधिको कर माफ गर्न, राहत प्याकेज ल्याउन र बैंक ब्याजमा पनि सहुलियत अनुदान दिनुपर्ने माग गरे। साथै, बजारमा फसेको पैसालाई अग्रीम भुक्तानी हुने चेकबाट र बिल बिजकबाट बेचिएको सामानको बारेमा पनि प्रहरीले आवश्यक कारबाही तथा नीति ल्याउनुपर्ने आग्रह गरे।
वीरगंज करिडोरमा सञ्चालित हिमाल आइरन, नारायणी स्ट्रिप्स, जगदम्बा स्टिल, नारायणी रोलिङ मिल, हुलास स्टिल, हामा स्टिल, जगदमम्बा एसएस पाइप, अशोका स्टिल, विश्वकर्मा सिमेन्ट, त्रिशक्ति, अम्बे, ओम, शुभश्री जगदम्बा, शालिमार, रिलायन्स सिमेन्टलगायत दुई दर्जन उद्योगको नेपालभरको बजारमा करिब २५ अर्ब र देशभरकै निर्माणजन्य सामग्री उत्पादन गर्ने उद्योगको करीब ५० अर्ब फसेको उद्योगीहरुको भनाइ छ।