
उत्तर कोरियाली सेनाले दुई कोरिया विभाजन गर्ने क्षेत्रमा प्रवेश गर्ने चेतावनी दिएको छ। दक्षिण कोरियाले उत्तर कोरियामा प्रोपोगान्डाका लागि पठाइ रहेको 'डिफेक्टर' समूहको विरोधमा उक्त चेतावनी दिएको हो।
केही समय यता दुई देशबीच विभिन्न पर्चा पठाउने होडबाजी चलिरहेको छ। उक्त पर्चाहरु बेलुनको माध्यमबाट एउटा देशबाट अर्कोमा पठाइरहेका छन्।
उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले सेनालाई सीमा क्षेत्र (डिमिलिटराइज्ड जोन) मा जाने तयारीका लागि आफूले आदेश दिएको बताएकी छिन्। लगत्तै उत्तर कोरियाली सेनाले उक्त क्षेत्रलाई लडाई मैदानमा परिणत गर्न तयार भएकाले सैन्य सतर्कता बढाउन सुझाव समेत दिएको बीबीसीमा जनाइएको छ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने उत्तरको सैन्य षड्यन्त्रविरुद्ध निगरानी र खतरासँग लड्ने तयारीका लागि अमेरिकासँग काम गरिरहेको बताएको छ।
उत्तर र दक्षिण कोरिया कथित डिमिलिटराइज्ड जोन (डीएमजेड)द्वारा विभाजित गरिएको छ।