PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

सत्तारुढ दलकै सांसदले मागे मन्त्रीहरुको राजीनामा, मन्‍त्रीहरु हाँसेको हाँस्यै !



पहिलोपोस्ट

सत्तारुढ दलकै सांसदले मागे मन्त्रीहरुको राजीनामा, मन्‍त्रीहरु हाँसेको हाँस्यै !

काठमाडौं : सत्तारुढ नेकपाका सांसद रामनारायण बिडारीले मन्त्रीहरुको सामूहिक राजीनामा माग गरेका छन्।

मंगलवारको राष्ट्रिय सभा बैठकमा सांसद बिडारीले बजेट असारमा पारित भएपछि साउनबाट काम नगरेर चैत महिना लागेपछि अख्तियारी आएको भन्दै काम गर्ने प्रवृत्ति रोक्न नसके सामूहिक राजीनामा दिनुपर्ने बताएका हुन्।

उनले साउनबाटै काम थाल्न कसले रोक्यो भन्दै प्रश्न पनि गरे। 'साउनबाटै धमाधम काम गरे हुने नि। साउनबाटै काम गर्न मन्त्रीलाई कसले छेक्यो? किन चैतमा मात्रै अख्तियारी आयो भनेर हल्ला गर्ने?’ उनले भने।

सांसद बिडारीले असारमा काम नगरेरै कागज बनाएर बजेट सकाउने परिपाटी यहीँ वर्षबाट रोक्न माग गरे। उनले भने, 'यहीँ सरकारले यसमा सुधार गरोस्। गर्न सकेन भने मन्त्रीहरुले सामूहिक राजीनामा दिए हुन्छ। त्यति पनि गर्न नसक्ने?’ उनले आक्रोश पोखे।

उनले विपक्षी र सत्तापक्ष उस्तै भएको बताउँदै देश कसरी बन्छ? भनी प्रश्न गरे।

मन्‍त्रीहरु हाँसेको हाँस्यै

आजको राष्ट्रिय सभा बैठकमा अधिकांश मन्त्रीहरु उपस्थित थिए। विडारीले सबै मन्त्रीको राजीनामा माग्नेगरी सम्बोधन गर्दा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, कृषि मन्त्री घनश्याम भुसाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणी पोखरेल हाँसिरहेका छन्। उद्याोगमन्त्री भट्ट, पर्यटनमन्त्री भट्टराई र सामान्य प्रशासनमन्त्री त्रिपाठीले त विडारी भाषण अवधिभर हाँसो थाम्कै सकेनन्।

बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत पनि सहभागी थिए।  

विडारी सम्बोधन गरिरहँदा प्रतिपक्षी कांग्रेससहित सत्तारु नेकपाकै सांसदहरु पनि हाँसिरहेका छन्। विडारीलाई हँसाउने सांसदमा रुपमा चिनिन्छ। उनको सम्बोधन गर्ने शैलीलाई धेरैले रुचाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell