
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट अन्तर्गत दोस्रो चरणका खेलहरुका लागि जुलाई महिनाबाट अभ्यास शुरु गराउने निर्णय गरेको छ।
एन्फाको मंगलवार बसेको कार्यसमितिको आपतकालीन बैठकले विश्वकप छनोट अन्तर्गतका अस्ट्रेलिया, चाइनिज ताइपेइसँगको खेलका लागि जुलाई महिनाबाट अभ्यास शुरु गराउने निर्णय गरेको हो। यसका लागि एएफसी, राष्ट्रिय खेलकुद परिषद्, स्वास्थ्य मन्त्रालयलगायतका सबै सम्बन्धित क्षेत्रमा समन्वय गर्ने एन्फाले जनाएको छ।
‘विश्वकप छनोट २०२२ को दोस्रो चरणमा सहभागी हुन आगामी जुलाई महिनाबाट नै परीक्षण तयारी शुरु गर्ने निर्णय गरियो’, एन्फाको निर्णयमा भनिएको छ, ‘उक्त प्रशिक्षण सञ्चालन गर्न एसियाली फुटबल महासंघको निर्देशन अनुरुप सम्बन्धित निकायहरु राष्ट्रिय खेलकुद परिषद्, स्वास्थ्य मन्त्रालय र खेलकुद मन्त्रालयबाट समेत आवश्यक स्वीकृति लिएर मात्र सञ्चालन गर्ने तथा आवश्यकता अनुसार निकायमा चाँडै नै पत्राचार गरी स्वीकृति लिने निर्णय गरियो।’
एन्फाले खेलाडीलाई प्रशिक्षणमा बोलाउने निर्णय गरेसँगै तीन महिनायता रोकिएको खेलकुद फर्किएला भन्ने आशा थपिएको छ। लकडाउन चलिरहँदा केही अनलाइन प्रतिस्पर्धा बाहेक ठप्प रहेको खेलकुद क्षेत्रमा पछिल्लो समय खेल गतिविधिलाई फेरि सञ्चालन गराउने बहस चल्दै आएको थियो।
केही दिनयता क्रिकेट खेलाडी पारस खड्कालगायतले अभ्यास गरेको भिडियो सामाजिक सञ्जालमा राखेका थिए। राखेप सदस्य सचिव रमेशकुमार सिलवालले व्यक्तिगत खेल हुँदै विस्तारै खेलहरुको अभ्यासलाई फर्काउने बताउँदै आएका छन्।
कोरोना महामारीकै बीच पश्चिमा देशहरुमा फुटबलको लहर छाएको छ। जर्मन बुन्डेसलिगा, स्पेनिस ला लिगा, कोपा इटालिया लगायतका लिग कडा स्वास्थ्य नियमहरुका बीच बन्द रंगशालामा चलिरहेका छन् भने प्रिमियर लिग, सिरि ए पनि चाँडै शुरु हुँदैछन्।