
काठमाडौं : मंगलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटा स्टिङ् अपरेसन गर्यो। अपरेसन सफल रह्यो किनकि काठमाडौंस्थित डिल्लीबजारमा रहेको भूमिसुधार तथा मालपोत कार्यालयका ६ जना कर्मचारीलाई घुसको रकम सहित पक्राउ गर्न आयोग सफल भयो।
समातिनेमा मालपोत अधिकृत रघुवंश कँडेलदेखि खरिदारसम्म थिए। उनीहरुले सेवाग्राहीसँग जग्गाको कित्ताकाट गर्ने आदेश गराइदिए वापत घुसको मोलमोलाई हुँदै थियो।
टोखा नगरपालिकाका वडा नम्बर ९, सामाखुसी चोक नजिकैको स्टार पार्टी प्यालेस अगाडिबाट उनीहरुलाई नियन्त्रणमा लिएको आयोगले जानकारी दिएको छ।
'घुस रकम सहित पक्राउ गरेका हौं। जग्गाको कित्ता काटको विषयमा घुस रकम बुझिएको देखिएको छ,' अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
पक्राउ पर्नेमा मालपोल अधिकृत सहित खरिदार दीपक खनाल, नायब सुव्बा उद्धव सापकोटा, नवराज घिमिरे, नारायण प्रसाद पोखरेल र गोपाल खड्का रहेका छन्। उनीहरुको साथबाट घुसवापत लिएको ८ लाख ५० हजार रुपैयाँ बरामद गरेको प्रवक्ता कोइरालाले जानकारी दिए।
यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।