चीनको नेशनल बायोटेक ग्रुपले कोभिड १९ को सम्भावित भ्याक्सिनको दुई चरणमा मानवमाथिको परीक्षण सफल भएको जनाएको छ। भ्याक्सिन सुरक्षित र मानिसको प्रतिरोधात्मक क्षमता वृद्धिका लागि सहयोग देखिएको हो।
वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टको सब्सिडरी चिनियाँ नेशनल बायोटेक समूहले भ्याक्सिन तयार गरेको हो। गत अप्रिलबाट हेनान प्रान्तमा मानवमा ट्रायल सुरु गरिएको थियो। १८ वर्षदेखि ५९ वर्ष समूहका स्वयमसेवीहरु यो ट्रायलमा सहभागी भएका थिए। उनीहरुलाई तीन तहको भ्याक्सिन दिइएको थियो। लो, मिडियम र हाइ डोज क्रमश: दोस्रो, तेस्रो र चौथो सातामा दिइएको थियो। त्यसकै आधारमा अनुसन्धानकर्ताले यो सुरक्षित रहेको र प्रतिरोधात्मक क्षमता अभिवृद्धि भएको पुष्टि गरेका हुन्।
कूल ११ सय २० जना मानिसमा यो भ्याक्सिनको प्रयोग भएको थियो। उनीहरुमाथि परीक्षण गर्दा कुनै खालको खतरा नदेखिएकाले यसलाई सुरक्षित मानिएको कम्पनीले जनाएको छ।
'कोभिड १९ नभएका व्यक्तिलाई दुई डोज भ्याक्सिन दिइएको थियो जुन अनुसन्धान विश्वकै पहिलो क्लिनिकल ट्रायल हो जुन सुरक्षित र प्रभावकारी देखिएको छ र यसका लागि लामो समय पनि खर्चिएको छ। यस अनुसन्धानमा तथ्याङंकहरुको व्यापकता छ जसले क्लिनकिल रिसर्चको परिणामलाई बलियो बनाएको छ,' समूहले भनेको छ।
कम्पनीले तेस्रो चरणको मानवमाथिको परीक्षण चीनबाहिर गर्न चाहेको र त्यसका लागि विभिन्न मुलुकका कम्पनीहरुसँग सहकार्य हुने जनाएको छ। कम्पनीले चीनमा तेस्रो चरणको ट्रायल हुनुलाई उपयुक्त मानेको छैन। संक्रमित संख्या बढ्दै गएको मुलुकमा परीक्षण गर्नुपर्ने कम्पनीले जनाएको छ।
चीनमा मात्र पाँचवटा भ्याक्सिन क्लिनिकल ट्रायलमा छन्।