PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

पर्वतको दुर्लुङमा पहिरोमा पुरिएका किशोरको शव पाँच दिनपछि भेटियो



रासस

पर्वतको दुर्लुङमा पहिरोमा पुरिएका किशोरको शव पाँच दिनपछि भेटियो

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक किशोरको शव पाँच दिनपछि भेटिएको छ। पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव आज बिहान फेला परेको हो।

शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका किशोरको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी सक्रिय थिए। गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर झिकाएर मङ्गलबार दिनभरसमेत खोजी गरिएको भए पनि आज बिहान स्थानीयवासीले फेला पारेको स्थानीय प्रभु गुरुङले जानकारी दिए।

पहिरोमा परी मृत्यु भएका तुलबहादुर थापाको परिवारका चार र कमला विकको परिवारका २ जनाको कालीगण्डकी र मोदी नदीको सङ्गम रहेको धार्मिकस्थल मोदीवेणीमा सोमबारै सामूहिक अन्त्येष्टि गरिएको छ भने तुलबहादुरकी छोरी र नातिको बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको छ।

दुर्लुङमा शनिबार राति दुई घण्टासम्मको मुसलधारे वर्षापछि गएको पहिरोमा परेर ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनाकुमारी, छोरी ३४ वर्षीया दिर्पा, नातिनी ११ वर्षीया विविशा, नातिहरु १५ वर्षीय सम्राट र १७ वर्षीय विवेक थापाको मृत्यु भएको थियो। यसैगरी पहिरोमा परेर २८ वर्षीया कमला विकका आठ वर्षीया छोरी प्रमिशा र १४ वर्षीय छोरा जेनिशको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell