
काठमाडौं: राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले नागरिकले स्वच्छ खानेपानी पिउन नपाएको भन्दै आक्रोश ब्यक्त गरेकी छन्।
राष्ट्रिय सभाको बुधवारको वैठकमा खानेपानी मन्त्री विना मगरलाई प्रश्न गर्दै उनले संविधानमा व्यवस्था भएअनुसार जनताले खानेपानी नपाएको बताइन्। उनले मन्त्रीले मेलम्चीको पानी ल्याउने भनेर वहानावाजी गरेको आरोप लगाइन्।
उनले संविधानमा मौलिक हकमा स्वाच्छ पिउने पानीको हक भए पनि घर घरमा स्वच्छ पानी नआएको बताइन्। 'संविधानको धारा हेर्ने हो की घरको धारामा पानी आउने हो?' उनको प्रश्न छ। आगामी वर्षमा आउने भनेर मन्त्रीले भनेको त्यो आगामी वर्ष कहिल्य नआएको उनको भनाई छ। खानेपानीको बजेटमा जहिले आगामी बर्ष भनेर मन्त्रीले ढाटेको उनको आरोप छ।
'विभिन्न वहानावाजी गरेर हुँदैन। साच्चै मेलम्चीको पानी कहिले आउने हो?' उनले प्रश्न गरिन।
विदेशबाट आएर क्वारेन्टाइनमा बसेकालाई सरकारले पिउने पानीको ब्यवस्था गर्न नसकेको देवकोटाले बताइन्। उनले क्वारेन्टाइनमा एक वर्षमा पानी पुर्याउन लागेको भन्दै ब्यङ्ग्य गरिन।
सांसद प्रकाश पन्तले मेलम्चीको पानी राजधानीवासीको घरमा आउने नआउने प्रष्ट नभएको बताए। उनले सुन्दरीजलसम्म मात्रै आउने हो कि राजधानीबासीका धारामा आउने हो? भन्दै प्रश्न गरे।
नागरिकले स्वस्च्छ पानी पिउन नपाएको तर सरकारी दावी भने त्यो भन्दा फरक रहेको उनको भनाई छ। जारको पानी खाएर बिरामी हुनुपर्ने अवस्था रहेको उनले बताए।