
काठमाडौँ: पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले इम्युनिटी पावरको कुरा गर्दा उडाइएको भन्दै लघुताभासबाट मुक्त हुन आग्रह गरेका छन्।
बुधबार राष्ट्रियसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा उठाइएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले अरु देशका प्रधानमन्त्रीले कोरोनाविरुद्ध लड्न रोग प्रतिरोधी क्षमता बढाउन जनतालाई आग्रह गर्दा त्यसको प्रशंसा भएको तर प्रधानमन्त्री ओलीले त्यही कुरा गर्दा उडाइएको बताएका हुन्।
'कुनै देशका प्रधानमन्त्रीले योग गर्नुस्, अर्गानिक खानुस् प्रतिरोधी क्षमता बढाउनुस् भन्दा धेरैले प्रशंसा गरे। ओहो प्रधानमन्त्री यस्तो पो हुनुपर्छ, जनतालाई कन्भिन्स् गर्ने र कोरोनाविरुद्ध लड्ने भने। हाम्रा देशका प्रधानमन्त्रीले संसदमा आएर कोरोनाविरुद्को लडाईँमा कसरी इम्युनिटी पावर बढाउने भनेर नेपालको जैविक कुराहरुको प्रशंसा गर्दा धेरै बुद्धिजीवीले उडाउनुभयो,' मन्त्री भट्टराईले भने, 'ओहो हाम्रा देशको प्रधानमन्त्रीले ज्ञान कहाँबाट आएछ भनेर खोज्न हिड्नु भो। अरु देशको प्रधानमन्त्रीले त्यही कुरा गर्दा प्रशंसा गर्दै कहाँबाट पढेर आएछ प्रधानमन्त्री भनेर खोज्न हिँड्नुभो।'
उनले सानो देशको लघुताभास लिन नहुने बताउँदै सत्य कुरा ठूलो अथवा सानो देश भए पनि सत्य नै हुने बताए।
मन्त्री भट्टराईले लकडाउनका बेला पनि विमानस्थलमा काम भइरहेको बताए। उनले कोभिड-१९ का कारण विगतका आयोजनामा पर्याप्त बजेट विनियोजन हुन नसकेको बताए। भट्टराईले ठूला पर्यटकीय गन्तव्य छनोट गरी बहुवर्षीय योजनाको रुपमा लैजाने बताए।
लकडाउनको अवधिमा त्रिभुवन विमानस्थलबाट १०८ वटा अन्तर्राष्ट्रिय उडान भएको बताउँदै हवाइ भाडा सस्तो बनाइएको उनको भनाइ थियो।
उनले कतार, मलेसियामा लगायतका मुलुकमा रगत पसिना बगाएका नेपालीहरुको त्यो देशले उद्दार गर्नुपर्ने बताए। संसद्बाट सो वातावरणको दबाब सिर्जना गर्नुपर्ने उनको भनाइ थियो।