PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

आरडीटी नेगेटिभ देखिएपछि क्वारेन्टाइनबाट घर फर्किएका २६ जनामा कोरोना संक्रमण पुष्टि



रासस

आरडीटी नेगेटिभ देखिएपछि क्वारेन्टाइनबाट घर फर्किएका २६ जनामा कोरोना संक्रमण पुष्टि

धम्बोझी : क्वारेन्टाइनबाट आरडीटी नेगेटिभ देखिएपछि घर पठाइएका बर्दियाका २६ जनामा कोरोना पोजेटिभ देखिएको छ। जाँचपछि घर पठाइएका बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर १ का १५  र २ का ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरुलाई गत जेठ २९ गते क्वारेन्टाइनबाट घर पठाइएको थियो। जेठ ३१ गते स्वाब संकलन गरी नेपालगञ्ञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पीसीआर जाँच गर्दा बुधवार संक्रमण पुष्टि भएका गाउँपालिकाका उपाध्यक्ष दीपा गौतमले जानकारी दिइन्। स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएका सबै जना वडा नम्बर २ स्थित अमरज्योति माध्यमिक विद्यालय सीतापुरको क्वारेन्टाइनमा बसेका थिए।

उच्च सतर्कता

एकै दिन धेरै जनामा संक्रमण पुष्टि भएपछि बढैयाताल गाउँपालिकामा सतर्कता बढाइएको छ। संक्रमण थप फैलनबाट रोक्न उच्च निगरानी बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए। वडा नम्बर १ र २ मा अत्यावश्यकबाहेक अन्य काममा बाहिर हिँड्न निषेध गरिएको छ।

भेरी अस्पताल नेपालगञ्जमा बुधवार भएको परीक्षणका क्रममा बर्दियाका ३१ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएकामध्ये २६ जना बढैयाताल गाउँपालिकाका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell