PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

पीसीआर रिपोर्ट नआउँदै क्वारेन्टाइन नजिकै आत्महत्या गरेका व्यक्तिमा कोरोना पोजेटिभ



रासस

पीसीआर रिपोर्ट नआउँदै क्वारेन्टाइन नजिकै आत्महत्या गरेका व्यक्तिमा कोरोना पोजेटिभ

अर्घाखाँची : पीसीआर रिपोर्ट नआउँदै आत्महत्या गरेका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ। शीतगंगा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनी शीतगंगा-५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए। गत जेठ १० गते भारतबाट घर फर्किएका उनको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि पीसीआर परीक्षणका लागि जेठ २४ गते स्वाब संकलन भएको थियो। गएराति उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

जिल्लामा एकै दिन ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए। यससँंगै जिल्लामा कोरोना संक्रमित ११० पुगेका छन्। कोरोनाका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ।

सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ शिवगढीमा रहेको इलाका प्रहरी कार्यालय सुन्दरीडाँडामा कार्यरत एक प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा ३१ वर्षीय जवानमा कोरोना पोजेटिभ देखिएपछि उनलाई खरेन्द्रपुरमा रहेको आइसोलेसन सेन्टरमा राखिएको शिवराज ९ का वडाध्यक्ष चुरबहादुर खड्काले बताए।

बुधवार कपिलवस्तुमा थप १० मा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको शिवराज नगरपालिकामा १९ वर्षदेखि ४५ वर्षसम्मका चार, वाणगङ्गा नगरपालिकाका एकएक महिला र पुरुष, बुद्धभूमि नगरपालिकामा १९ देखि ३० वर्ष उमेरसम्मका चार जनामा कोरोना पुष्टि भएको छ। यससँगै कपिलवस्तुमा ६५७ मा कोरोना संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell