वीरगंज : पर्सा प्रहरीले गएराति वीरगंज-१६ इनर्वा नदीछेउ अहिरबाटोलाबाट भारततर्फ तस्करी गर्न लागिएको एक ट्र्याक्टर छोकडा बरामद गरेको छ।
लकडाउन खुलेपछि भारततर्फ छोकडा, मरिच, केराउ तस्करी भइरहेको पूर्वसूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले ना ३ त ७०० नम्बरको ट्र्याक्टरमा लोड गरी भारत तस्करी गर्न लागेको अवस्थामा बरामद गरेको हो।
यसैगरी जिल्ला प्रहरी कार्यालय बाराले सवा पाँच लाख मूल्य बराबरको ३५ क्विन्टल छोकडा बरामद गरेको छ। बुधवार बिहान सूचनाको आधारमा विश्रामपुर गापा-४ बलिरामपुरमा तस्करहरूले सञ्चय गरेर भारत लैजाने उद्देश्यले राखेको छोकडा प्रहरी बरामद गरेको बताइएको छ।
बाराको बलिरामपुरस्थित सुरेन्द्र साहको घरनजिक तस्करहरूले थुपारेको चालीस बोरा अन्दाजी ३५ क्विन्टल छोकडा बरामद भएको जिप्रका बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।
उनले प्रहरीको टोलीलाई हेरेर भारत पुर्याउने उद्देश्यले जम्मा भएका भरिया, तस्करहरू भने भाग्न सफल भएको बताएका छन्। घटनाका सम्बन्धमा आवश्यक छानबिन भइरहेको र बरामद छोकडा वीरगंज भन्सार कार्यालयमा पठाइएको उनले बताए।