चितवन : नारायणगढ-मुग्लिन सडकखण्डको चार किलोमा पहिरो खसेपछि पुनः सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार बुधवार साँझ पहिरो पन्छाएलगत्तै पुनः सोही ठाउँमा पहिरो खसेको हो।
इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा बिहान ४ः१५ बजे पहिरो खसेको थियो। नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकमा पहिराले ४५ मिटर सडक ढाकेको थियो। दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको भए पनि पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको उनले जानकारी दिए। बुधवार बिहानबाटै सो सडक अवरुद्ध भएपछि सवारी साधनको लामो लाइन लागेको छ।