PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

नेकपाले बोलायो स्थायी कमिटी बैठक, एमसीसी मुख्य एजेण्डा



पहिलोपोस्ट

नेकपाले बोलायो स्थायी कमिटी बैठक, एमसीसी मुख्य एजेण्डा
फाइल फोटो

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी समिति बैठक बोलाएको छ। प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा बुधबार भएको भेटवार्तामा बैठक बोलाउने सहमति भएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। बैठक असार १० गतेका लागि बोलाउने सहमति अध्यक्षबीच बनेको हो।

'बैठकमा छलफलका लागि एजेण्डामा धेरै छन्। एमसीसीबारे छलफल होला', बैठकको एजेन्डाबारे खनालले भने।

एमसीसी नेकपामा लामो समयदेखि छलफल हुँदै आएको छ।

नेकपाको विधान अनुसार तीन महिनामा एक पटक स्थायी कमिटी बैठक बस्नुपर्ने व्यबस्था छ। गत २९ मंसिरमा बसेको स्थायी समिति बैठक ६ पुसमा सम्पन्न भएको थियो। त्यसयता स्थायी कमिटी बैठक बस्न सकेको छैन।

नेकपा २० स्थायी कमिटी सदस्यले बैठकको माग गर्दै वैशाख १० गते लिखित पत्र बुझाएका थिए। दुई पटक बैठक बोलाइए पनि बैठक बस्न सकेको छैन।

गत वैशाख २५ गतेका लागि डाकिएको स्थायी कमिटीको बैठक पनि तुहिएको थियो। २४ गते अपराह्न उक्त बैठकको ऐजेण्डा तय गर्नका लागि सचिवालय बोलाइएको थियो। तर, आफूलाई सञ्चो नभएको भन्दै बैठकको बीचमै उठेर ओली हिँडेका थिए। केही बेरमा आउँछु भनेका प्रधानमन्त्री बैठकमा फेरि फर्किएनन्। उक्त बैठक स्थगित भयो।

त्यसपछि ३१ गतेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो। बैठक नबोलाइएपछि नेताहरु असन्तुष्ट हुँदै आएका थिए। पछिल्लो पटक सचिवालय समेत प्रभावित हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell