
काठमाडौं : हिमाल पारीको जिल्लामध्ये कोरोना भाइरस मुक्त रहेको मनाङमा संक्रमण देखिएको छ। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा कार्यरत कर्मचारीमा कोभिड १९ देखिएको हो।
'उहाँ क्वारेन्टाइनमा हुनुहुन्थ्यो। कपिलवस्तुबाट फर्किनु भएको रहेछ,' चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले पहिलोपोस्टसँग भने, 'स्वाब संकलन गरेर तल परीक्षणका लागि पठाएका थियौं। हिजो राति रिपोर्ट पोजेटिभ भएको खबर आयो।'
पहिलो पटक जिल्लामा कोरोना संक्रमण देखिएलगत्तै गाउँपालिकाले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठक डाकिसकेको छ। कपिलवस्तुको बाढगंगा १४ स्थायी ठेगाना रहेका व्यक्तिमा संक्रमण देखिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ।
संक्रमित लोकप्रिय स्कुलमा बनाइएको क्वारेन्टाइनमा थिए। त्यहाँ १० जना क्वारेन्टाइनमा रहेको अध्यक्ष घलेले भने। छिमेकी जिल्लाहरु लमजुङ, गोर्खा लगायतबाट आएका मानिसलाई पनि त्यहाँ क्वारेन्टाइनमा राखिएको छ।
'उहाँमा कुनै लक्षण देखिएको छैन। अब आइसोलेसनमा राखेर यही उपचार हुन्छ,' अध्यक्ष घलेले भने, 'तलबाट आउँदा बाटोमा कोको सँग भेट भयो अब कन्ट्याक्ट ट्रेसिङमा लाग्छौं।'
हिमालपारीका दुई जिल्ला मध्ये मनाङमा कोरोना संक्रमण देखिएपछि गण्डकीमा अब मुस्ताङ मात्र संक्रमणमुक्त जिल्ला बनेको छ।