PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

मन्डेकाजीको उदार मन : सागको डबल स्वर्णबाट भएको आम्दानीबाट लकडाउनमा फसेकालाई सहयोग



मुकुन्द घिमिरे

मन्डेकाजीको उदार मन : सागको डबल स्वर्णबाट भएको आम्दानीबाट लकडाउनमा फसेकालाई सहयोग

काठमाडौं : मन्डेकाजी श्रेष्ठ अर्थात् गएको १३ औं दक्षिण एसियाली खेलकुदको दोहोरो स्वर्ण विजेता। यतिमै सीमित छैन उनको परिचय। नेपाल प्रहरी पनि हुन् उनी। र, पछिल्लो समय भने समाजसेवीका रुपमा चिनिएका छन्।

श्रेष्ठले कक्षा ६ मा पढ्दा नै कराते सिक्न सुरु गरे।

पछि प्रहरीमा जागिरे भए। र, दक्षिण एसियाली खेलकुदमा आफूलाई प्रमाणित पनि गरिछाडे।

लगत्तै कोरोनाको महामारी फैलियो। उनी होमिए समाज सेवामा। घर भक्तपुर। घरबाट बाहिर हेर्दा काठमाडौंबाट बाहिर जिल्ला हिँडिरहेका मानिसहरुको लस्कर देखे। खाली खुट्टै हिँडिरहेका मान्छेहरुलाई उनले प्रश्न गर्दा २/३ हिँडेपछि पुगिएला भन्ने जवाफ पाए। खिन्न भए उनी। त्यसैबेला सरकार खेलाडीहरुलाई पुरस्कार पनि दिएको थियो। अनि उनी टिमै नै बनाएर लागिपरे त्यसरी बाहिर जानेहरुलाई सहयोग गर्न।

चर्चामा ड्युटीको फोटो

ड्युटी गरिरहेको उनको फोटो सामाजिक सञ्जालमा चलिरहेको छ केही दिन यता। श्रेष्ठ केही दिनअघि ड्युटी गरेको भए पनि हाल तयारी अवस्थामा रहेको तर ड्युटीमा नगएको बताउँछन्।

‘हामीलाई चाहिँ बोलाएको खण्डमा जानुपर्छ। अस्ति एकपटक चाहिँ राष्ट्रपति भवन अगाडि परेको थिएँ,’ उनले सुनाए।

अहिले विभागबाट खेलाडी ड्युटीमै नखटिएका भन्ने चाहिँ होइन। भलिबल, टेबल टेनिस लगायत खेलका खेलाडीहरु ड्युटीमा खटिएका छन्। यद्यपि, उनीहरुमा सागमा सहभागी खेलाडीहरु भने खासै छैनन्।

श्रेष्ठ विभागीय टिमका भएकाले आफूलाई पहिला प्रहरीका रुपमा चिनाउँछन् अनि खेलाडीका रुपमा।

‘म नेपालको खेलाडी हो। नेपाल पुलिस क्लबमा छिरेपछि खेल भन्दा खेल्ने हो नखेल भन्दा नखेल्ने हो। त्यसैले म पहिला नेपाल प्रहरी हो, अनि खेलाडी।’

खेलाडीको रुपमा पदक जितेर झण्डा फरफराउनुको मजा उनले महसुस गरेका छन्। यो आफ्ना लागि छुट्टै आनन्दको क्षण भएको श्रेष्ठ बताउँछन्। त्यस्तै देशमा कोरोनाको महामारी चलिरहँदा फ्रन्टलाइनरको रुपमा काम गरिरहेको नेपाल प्रहरीको सदस्य हुन पाउँदा पनि उनलाई त्यतिकै गर्व छ।

‘हामी देशकै छोरा भएर ड्युटी गरिरहेका छौं। यसको छुट्टै आनन्द हुन्छ,’ उनले भने।

लकडाउनमा समाजसेवा

काठमाडौं छाडेर गृह जिल्ला जानेहरुलाई देखि यतै अफ्ठ्यारोमा परिरहेकालाई मण्डेकाजीले सहयोग गर्न अघि सरे।

लकडाउनपछिको २५ देखि ३० दिन उनी त्यसैमा ब्यस्त रहे। त्यतिबेला विभिन्न वृद्धाश्रम अनाथालय लगायतका ठाउँहरुमा पुगे।

‘यस समयमा आफूलेमात्र खान पाएर लाउन पाएर भएन। डबल गोल्ड मेडल हात पारे वापत मैले सरकारबाट पुरस्कार रकम तथा विभिन्न संघ संस्थाबाट पुरस्कारहरु पाएँ,’ उनले सुनाए, ‘त्यही रकमलाई मैले समाजका लागि खर्च गरेँ। सुरुमा आफ्नै पैसाले सुरु गरेँ। पछि अरु संघसंस्थाहरु पनि जोडिए।’

यसमा उनलाई धेरैले हौसला दिएको उनी बताउँछन्। यसबाट उनलाई आफ्नो सामाजिक दायित्व पूरा गर्न सकेकोमा गर्व छ।

‘त्यो टाइममा चाहिँ कति बुढी आमाहरुले आशिर्वाद पनि दिनुभएको थियो। उहाँहरु चाहिँ साँच्चिकै निकै पीडित हुनुहुँदो रहेछ,’ उनले भने, ‘उहाँहरुलाई खान नपाएरै समस्या भएको रहेछ।’

धेरैतिर राहत वितरण भए पनि कति पीडितहरु त्यसबाट छुट्ने गरेको उनले त्यतिबेला थाहा पाए।

‘नेपालमा लकडाउन भएको १० दिन १५ दिनपछि बिहान कमाएर बेलुकी खानेहरु धौधौ भइसकेको थियो। त्यो बाध्यताले घर फर्कँने क्रम बढेको थियो,’ उनले सम्झिए, '१५/२० दिनसम्म त म बाहिर निस्किएको थिइन। त्यतिबेला मिडिया मार्फत् र घरबाट बाहिर बाटोमा हेर्दा हिँड्दै गरेका मान्छेहरु देखेँ।’

यसले उनलाई गहिरो प्रभाव छोड्यो।

‘एकदिन म बाहिर निस्किएर सोधेँ - तपाईं कहाँ पुग्नुहुन्छ?,’ उनले भने, ‘कोही २ दिनमा पुग्छु भन्छन्। कोही कति। ९ दिनमा पुग्छु भन्नेहरु पनि मैले भेटेँ।’

त्यसपछि आफूले पनि केही गर्नुपर्ने रहेछ भन्ने उनलाई लाग्न थाल्यो।

उनले तिनीहरुलाई अवस्था हेरेर स्पोर्टस् सुजदेखि मास्क, साबुन र खानेकुरासम्म बाँड्न थाले।

‘त्यहाँबाट सुरु गर्दैगर्दै वृद्धाश्रममा बुढी आमाबुबाहरुलाई, सुस्त मनस्थिति भएका मानिसहरु राखेको ठाउँमा हामीले टिम नै बनाएर सहयोग गर्न थाल्यौं,’ उनले भने।

चिन्ता भने खेलकै

नेपालमा लकडाउन खुकुलो भएको छ। जति खुकुलो हुँदैछ त्यति नै कोरोना संक्रमितको संख्या पनि बढिरहेको छ। खेलाडीले यो बीचमा अभ्यास गर्न पाएनन्। पछिल्ला केही दिनमात्र खेलाडीले आक्कलझुक्कल अभ्यास गर्न थालेका छन्। ब्याटमिन्टन संघ, क्रिकेट संघ, एन्फा लगायतका खेल संघहरुले खेलाडीको अभ्यास अघि बढाउन पहल थालेका छन्।

मण्डेकाजीको भने लकडाउनमा सामान्य वर्कआउट बाहेक खासै केही अभ्यास चलेको छैन। यसमा उनी चिन्तित सुनिन्छन्। उनलाई चिन्ता छ तौल बढ्नेदेखि लामो समय अभ्यास नगर्दा खेल बिग्रनेसम्मको।

‘हाम्रो चाहिँ ग्रुपिङ गेम हो। अलि नजिक नजिक पनि बस्नुपर्ने हुन्छ। टिममा बस्नु पर्ने भएकाले पनि तत्कालै चाहिँ सुरु भएको छैन। तर सुरु गर्ने भन्ने कुरा चाहिँ चलिरहेको छ,’ मन्डेकाजीले भने।

‘खेलाडीहरु वेट नै ठूलो समस्या देखिइरहेको छ,’ लामो सास फेर्दै मण्डेकाजीले भने, ‘चाहे म हुँ या अरु कोही। हिजोको बेलामा सबै भएर ट्रेनिङ गरेजस्तो छैन। एक्लै घरमा ट्रेनिङ गर्नु र अगाडि कोच हुनुमा धेरै फरक हुन्छ।’

अहिलेको सन्दर्भमा चाँडोभन्दा चाँडो ट्रेनिङ सुरु हुनुपर्ने उनको बुझाइ छ। यसरी नै बस्ने हो र ठूला प्रतियोगिता आउने हो भने समस्या निम्तने उनको चिन्ता छ।

त्यसो त युरोपमा फुटबललगायतका खेलमा कडा स्वास्थ्य निर्देशिकाहरु जारी गरेरै भए पनि खेलहरु सुरु भएका छन्। क्रिकेटमा तथा मार्सल आर्टका खेलहरुमा पनि अवस्था उही छ।

यसका लागि खेलाडीहरुलाई छुट्टै राखेर ट्रेनिङ गराउन सकिने अवस्था उनी देख्छन्। यसका लागि खेलकुद मन्त्रालय र राखेपले ध्यान नदिएको उनको गुनासो छ।

‘अब जति ढिला गर्‍यो त्यति नै कठिनाइ आउँछ। अब चाँडोभन्दा चाँडो चाहिँ ट्रेनिङ सुरु गरिहाल्नु पर्छ,’ उनले भने, ‘किनभने धेरैजसो खेलाडीहरु विभागीय खेलाडी छन्। खेलाडीहरु अधिकांश अहिले ड्युटीमा छन्। एपिएफबाट त बोर्डरमै पुगेका छन्। त्यसले चाहिँ कठीनाइ हुनसक्छ।’

यस्तोमा विभाग लगायत सबैलाई फिर्ता बोलाएर ट्रेनिङ गराउनु पर्ने टट्कारो आवश्यकता उनी देख्छन्।

+++

सानोमा मण्डेकाजीको घर अगाडि एउटा पसल थियो। र, त्यसको अगाडि मैदान। उनी त्यो मैदानमा खेल्न जाने गर्थे।

त्यही मैदानको अर्को छेउमा कराँते सिकाउने डोजो थियो। उनलाई त्यहीँबाट कराँतेमा चासो लाग्न थालेको थियो।

‘भित्र हलमा कराँते सिकाउँथे। हामी चाहिँ बाहिर त्यही अनुसारले आफू खुशी ट्रेनिङ गर्थ्यौं,’ उनले नोस्टाल्जिक हुँदै भने, ‘त्यसैक्रममा एक दिन ड्याडले मलाई देख्नु भयो। अनि कराँते खेल्ने भनेर सोध्नु भयो। आफूलाई पनि इच्छा थियो कराँते खेल्ने। अनि जोइन गर्दिनु भयो।’

त्यसपछि २०५०/५१ साल यता निरन्तर उनी कराँतेमा छन्। नेपाल प्रहरीमा चाही उनले २०६३ सालमा प्रवेश गरेका हुन्। १४ वर्षअघि। प्रहरीमा अहिले उनी हेड कन्स्टेबल (हवल्दार) छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell