चितवन : माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ। बिहान ४:१५ बजे खसेको पहिलो राति १० बजे पन्छाएर सडक नियमित गरिएको हो। काठमाडौं उपत्यकाका लागि लाइफलाइन सडक हो यो।
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो। दुवै तर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको उनले जानकारी दिए। शुरुआतमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा समय लागेको उनले जानकारी दिए।
पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए। सडक खुलेसँगै सवारी गन्तव्यतर्फ लागेका छन्। सवारीको चापका कारण सवारी एकतर्फी मात्र सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।