
काठमाडौं : संविधान संशोधन विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ। ११ बजे बस्ने बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त 'नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्' भन्ने प्रस्ताव कानुनमन्त्रीबाट प्रस्तुत हुनेछ।
त्यसपछि दफावार छलफलमा जानेछ। दफावार छलफल पछि मन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यसपछि सांसदहरूले दस्तखतसहितको मत विभाजनमा सहभागी हुनेछन्। संविधान संशोधन विधेयकमा संशोधन दर्ताका लागि ७२ घण्टाको समावधी दिइएको थियो।
कालापानी, लिपुलेक लिम्पियाधुरासहित जारी नेपालको नयाँ नक्सा अनुसार निशान छाप मिलान गर्न संविधान संशोधन गर्ने प्रकृया जारी छ। विधेयक प्रतिनिधि सभाबाट जेठ ३१ गते सर्वसम्मत पारित भइसकेको छ। राष्ट्रिय सभाबाट पारित भएपछि विधेयक प्रतिनिधि सभामा जानेछ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणिकरण गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाएपछि यसको प्रकृया पूरा हुनेछ। राष्ट्रपतिले प्रमाणिकरण गरेपछि संविधान संशोधन हुनेछ।