
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्ने बताएका छन्।
नेपालको नयाँ राजनीतिक नक्सालाई निशान छापमा समावेश गर्न प्रस्ताव गरिएको संविधान संशोधन विधेयक २०७७ माथिको छलफलका क्रममा शर्माले दुवै छिमेकी असल मित्र भएकाले तत्काल नेपालको भूमि फिर्ता गर्न भारतले सक्नुपर्ने बताए। उनले नेपालीहरुको सदासयता, मित्रता र आत्मियताले कालापानी लगायतका उत्तरी सीमामा भारतीय चेकपोस्ट राख्न दिइएको तर अहिले भारतले त्यही भूमिलाई आफ्नो बनाउन खोजेको बताए। नेपालको भूमिमा बसेको भारतीय सेना समेत तत्काल फिर्ता गर्नुपर्ने उनको भनाइ थियो।
अंग्रेजले नेपालबाट लुटेको भूभाग समेत फिर्ता दिनुपर्ने शर्माले बताए। उनले भारतले नेपालसँग डोलिबेटीको सम्बन्ध चाहन्छ भने नेपालबाट लुटिएको पूर्वको भूभाग दार्जिलिङ र पश्चिमको भूभाग काकडा समेत फिर्ता दिनुपर्ने बताए।
‘भारतले हामीलाई असल मित्र मान्ने हो असल मित्र ठान्ने हो भने अंग्रेज साम्रज्यवादले लुटेर हाम्रो भूभागमा मिसाएको भूभाग तपाईहरुको हो तपाईहरुको मुटु काटेर यतातिर मिसिएको छ असल मित्र, त्यसकारण महाकाली पश्चिमको किल्ला कांगडा, हाम्रो कांगडासम्मको जमिन तपाइहरुले लिनुस् भनेर चेलिबेटीको नाताहो डोलिवेटीको नाता हो भनेर नेताहरुले भन्नुहुन्छ,’ उनले भने' ‘यदि त्यसो हो भने त्यसलाई सगौरव फिर्ता गरिदिने दार्जिलिङ हामीलाई फिर्ता गरिदिनुपर्छ। र कागँडासम्मको भूमि फिर्ता गरिदिनुपर्छ।’
१८१६ मा भएको सुगौली सन्धिबाट अंग्रेजले नेपालको भूमि लुटेर लगेको स्पस्ट पार्दै नेपालले सम्झौतालाई बाध्य भएर मान्नुपरेको बताए।