
सुर्खेत : कर्णाली प्रदेशमा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कर्णालीमा बिहीवार पुष्टि भएका संक्रमितको संख्या प्रदेशमा अहिलेसम्मकै उच्च हो। नयाँ संक्रमितमा दैलेखका ८६ छन् भने सुर्खेतका ३४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।।
दैलेखको महाबु गाउँपालिकाका ७६ जना, गुराँसे गाउँपालिकाका ५ जना, चामुण्डा विन्द्रासैनीका २ जना, दुल्लु नगरपालिकाका २ जना, भैरवी गाउँपालिकाका एक जना गरी ८६ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा ६ जना, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा दुई/दुई जना, चिंगाड गाउँपालिकाका ८ जना, गुर्भाकोट नगरपालिकामा ५ जना, पञ्चपुरी नगरपालिकामा १० जना र सिम्ता गाउँपालिकामा एक जना गरी जम्मा ३४ जनामा संक्रमण पुष्टि भएको छ।
नयाँ संक्रमित सबैको परीक्षण प्रदेश अस्पताल, सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको हो। कर्णालीमा संक्रमितको कुल संख्या एक हजार २२४ पुगेको छ।
बिहीवार नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट ६ जना, महावु आइसोलेसन सेन्टर दैलेख र सिम्ता आइसोलेसन सेन्टर सुर्खेतबाट एक/एक जना, सालकोट आइसोलेसन सेन्टर सुर्खेतबाट ३ जना गरी जम्मा ११ जना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्। कर्णालीमा हालसम्म डिस्चार्ज हुनेको संख्या ५०५ पुगेको छ।
कर्णाली प्रदेशमा मृत्यु भइसकेपछि कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४ पुगेको छ। सुर्खेत सिम्ता गाउँपालिकाको २५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु भएसँगै मृतकको संख्या ४ पुगेको हो।