PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

वीरगंज भन्सारको राजस्व संकलन ६४ प्रतिशत मात्रै, ११ महिनामा लक्ष्यभन्दा ६१ अर्ब कम राजस्व उठ्यो



पहिलोपोस्ट

वीरगंज भन्सारको राजस्व संकलन ६४ प्रतिशत मात्रै, ११ महिनामा लक्ष्यभन्दा ६१ अर्ब कम राजस्व उठ्यो

वीरगंज : वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको एघार महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन। भन्सार कार्यालयले लक्ष्य भन्दा ६१ अर्ब कम राजश्व संकलन गरेको छ।

कार्यालयले चालु आवको साउनदेखि जेठसम्मको लागि १ खर्ब ७२ अर्ब ९० करोड ६२ लाख ४५ हजारको लक्ष्य पाएकोमा ६४.७१ प्रतिशत अर्थात १ खर्ब ११ अर्ब ८८ करोड ८५ लाख २३ हजार मात्र संकलन गरेको जनाएको छ।

यसैगरी, वीरगंज भन्सारले भन्सार महसुलतर्फ ७४ अर्ब ४ करोड ९ लाख ८१ हजार लक्ष्य पाएकोमा ५२.०६ प्रतिशत अर्थात ३८ अर्ब ५४ करोड ४३ लाख ७२ हजार, मूल्य अभिवृद्धि करतर्फ ६९ अर्ब ९७ करोड ६७ लाख ५६ हजार लक्ष्य पाएकोमा ६३.३३ प्रतिशत अर्थात ४४ अर्ब ३१ करोड ३३ लाख ७४ हजार, अन्तशुल्कतर्फ २८ अर्ब ८८ करोड ८५ लाख ८ हजार लक्ष्य पाएकोमा ५०.५५ प्रतिशत अर्थात १४ अर्ब ६० करोड ३२ लाख २६ हजार संकलन गरेको छ।

त्यसैगरी, पूर्वाधार करतर्फ ७ अर्ब ७१ करोड ४३ लाख २५ हजार, अग्रीम आयकरतर्फ १७ करोड ९ लाख २७ हजार, स्वास्थ्य जोखिम करतर्फ ८५ लाख ३२ हजार, अन्यतर्फ ६ अर्ब ५३ करोड ३७ लाख ६७ हजार गरी १ खर्ब ११ अर्ब ८८ करोड ८५ लाख २३ हजार राजस्व संकलन भएको हो।

चालु आवको चैत मसान्तदेखि नेपाल-भारतमा लकडाउन लाग्नु, उद्योग, व्यापार, व्यवसायलगायत ठप्प हुँदा भारत तथा तेस्रो मुलुकबाट आउने मालवस्तुमा भारी गिरावट आएको छ। वीरगंज भन्सारबाट भित्रिने इन्धन, सवारी साधनलगायतको परिमाणमा पनि कमी आएकोले लक्ष्य अनुसारको राजस्व असुली हुन नसकेको वीरगंज भन्सारले जनाएको छ।

चैत १६ गतेको निर्देशन अनुसार भारत तथा विदेशबाट आयात गरिने ५० हजार डलरभन्दा माथिको गाडी, मरिच, केराउ, सुपारी, छोकडा, मदिरा, इनर्जी ड्रिंकलगायतको सामानमा पनि सरकारले प्रतिबन्ध लगाएको कारणले राजस्वमा निकै गिरावट आएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell