कैलाली : कोरोना सङ्क्रमणका कारण मृत्यु भएका कैलाली गोदावरी नगरपालिकाका ४६ वर्षे पुरुषको शव आज नेपाली सेनाले व्यवस्थापन गरेको छ। तेघरीस्थित श्री भवानी दल गणबाट गएको तालिम प्राप्त सैनिक टोलीले शव व्यवस्थापनसम्बन्धी पूर्व निर्देशित सुरक्षाका सम्पूर्ण उपायहरूको अवलम्बन गरी मोहना घाटमा हिन्दु परम्परा अनुसार शव व्यवस्थापन गरिएको प्रमुख सेनानी विकास केसीले जानकारी दिए।
अन्तिम संस्कारमा गणबाट मुल पण्डितसमेत गई धार्मिक परम्परा बमोजिम मृतकका केही आफन्तहरूको उपस्थितिमा दाह संस्कार गरिएको केसीले बताए। कोरोना सङ्क्रमणका कारण स्वास्थ्य अवस्था गम्भीर भएका उनको हिजो साँझ सेती प्रादेशिक अस्पतालको आइसियूमा निधन भएको थियो।