PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

नागरिकता विधेयकबारेको छलफलमा देउवा गएनन् बालुवाटार, काँग्रेसको अडान कायमै



कुञ्जरमणि भट्टराई

नागरिकता विधेयकबारेको छलफलमा देउवा गएनन् बालुवाटार, काँग्रेसको अडान कायमै

काठमाडौं: सदनमा विचाराधीन नागरिकता विधेयकबारे छलफल गर्न सत्तारुढ दल र प्रतिपक्ष दलका नेताहरु बिहीबार साँझ बालुवाटारमा भेला भए। प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित भएको भेलामा काँग्रेसका सभापति शेरबहादुर देउवा भने आइ पुगेनन्।

आकस्मिक रुपमा बैठक बोलाएकोले काँग्रेस सभापतिले समय दिन नसकिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बैठकमा सहभागी नेकपाका नेता सुवास नेम्वाङका अनुसार छलफलमा काँग्रेसबाट उपसभापति विमलेन्द्र निधि, कृष्ण सिटौला, दिलेन्द्र बडु, राधेश्याम अधिकारीलगायत सहभागी थिए।

नेकपाका तर्फबाट भने दुई अध्यक्ष, महासचिव विष्णु पौडेल, भीम रावल, नेम्वाङ, राज्य व्यवस्था तथा सुशासन समितिकी अध्यक्ष शशी श्रेष्ठलगायत सहभागी भएका थिए।

प्रधानमन्त्री ओलीले नागरिकता विधेयक र एमसीसी बारेमा काँग्रेससँग छलफल गर्न बैठक बोलाएको र आजको बैठक विशेष गरी नागरिकता विधेयकमा केन्द्रित रहेको बैठकमा सहभागी काँग्रेस उपसभापति विमलेन्द्र निधिले जानकारी दिए। एमसीसीका बारेमा प्रधानमन्त्रीले छिट्टै अर्को बैठक बोलाउने र आफूहरुलाई तयार भएर आउन प्रधानमन्त्रीले आग्रह गरेको निधिले बताए। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले उक्त विधेयकका सम्बन्धमा समितिमा भइरहेको छलफल र सहमतिका बारेमा जानकारी गराएकी थिइन्। 

उपसभापति निधिले काँग्रेसको आधिकारिक धारणा राख्दै बैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा हाल विद्यमान कानुनमा कुनै संशोधन र परिवर्तनको आवश्यकता नभएको तर्क गरे।

के भयो छलफल?

नेपाली नागरिकले विदेशी महिला विवाह गरेको खण्डमा कति समयपछि नागरिकता दिने विषयमा दलहरु सहमतिमा पुग्न सकेका छैनन्। राज्यव्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नेपालमा निरन्तर ७ वर्ष बसोबास गरेपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने प्रस्ताव गरेपछि यो विषय चर्चामा आएको हो।

नागरिकता विधेयक दुई वर्षदेखि संसदीय समितिमा अलपत्र छ। नागरिकता विधेयकमा सहमति गर्न गृहमन्त्रीले बुधबार संसदीय समितिमा ५ दिन समय माग गरेका थिए।

यही विषयमा प्रधानमन्त्री ओलीले नागरिकता विधेयकको विषयमा नेपाली काँग्रेसको धारणाा बुझ्न नेताहरूलाई बोलाएका थिए। 'प्रधानमन्त्रीले नागरिकता विधेयकको विषयमा नेपाली कांग्रेसको धारणाा बुझ्न नेताहरूलाई बोलाउनु भएको थियो,' बैठकपछि नेम्वाङले भने, 'मुख्यतः उहाँहरुको धारणा सुन्यौं।'

काँग्रेसले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई विवाह हुनसाथ नागरिकता दिनुपर्ने माग गर्दै आएको छ। आजको छलफलमा पनि काँग्रेस नेताहरुले सोही अडान दोहोर्‍याएको नेम्वाङले बताए।

'उहाँहरुले विदेशबाट नेपाली परिवारमा बिहे गरेर आउने बित्तिकै नागरिकता दिनुपर्छ भन्ने अडान राख्नुभयो,' उनले भने, 'हामीले राख्दै आएको र अन्यत्र पनि यस्तै अभ्यास भएकाले यसलाई निरन्तरता दिनुपर्नेछ भन्ने हाम्रो अडान हो भन्नुभयो।'

यसबारे नेकपाभित्र पनि छलफल हुने नेम्वाङले बताए। भने, 'विवाह गरेपछि कानुन बमोजिम नागरिकता दिने व्यवस्था छ। यसमा ७ वर्षपछि दिने भन्ने कुरा उठिरहेको छ। हामीले हाम्रा कुरा राखेनौं। सम्भवत: भोलि पार्टीभित्र छलफल गर्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell