काठमाडौं : नेपाली सेनाले कोभिड-१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेको क्वारेन्टाइन व्यवस्थापनमा अनियमितता भएको भन्ने विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
चीनबाट ल्याइएका १७५ विद्यार्थीलाई नेपाली सेनाकै नेतृत्वमा भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा सम्पूर्ण प्रबन्ध मिलाई १७ दिन राखेर पुर्याएको योगदानको बेवास्ता गर्दै अर्नगल प्रचार भएको भनी सेनाले आपत्ति प्रकट गरेको छ।
स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै संवेदनशील र राष्ट्रिय प्रतिष्ठासँग गाँसिएको उक्त कार्यलाई उत्कृष्ट व्यवस्थापनमा सफलतापूर्वक सम्पन्न गर्न पारदर्शी र प्रभावकारी पूर्वतयारी गरिएको स्मरण गराउदै सेनाले सो क्वारेन्टाइनका लागि विनियोजित एक करोड २९ लाखमध्ये सात लाख २८ हजार रुपैयाँ मौज्दात रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
उक्त क्वारेन्टाइनका लागि खरिद गरिएकोमध्ये तीन लाख उन्नाइस हजार रुपैयाँ मूल्य बराबरको औषधि पनि स्टोर मौज्दात रहेको जानकारी दिइएको छ। उक्त क्वारेन्टाइनमा रहनेलाई खानाका लागि ५५ लाख एक हजार, औषधिमा तीन लाख ३३ हजार र औषधिजन्य सामग्री खरिदमा ६३ लाख ३७ हजार रुपैयाँ खर्च भएको सेनाको विज्ञप्तिमा उल्लेख छ।
स्वास्थ्य सामग्रीहरुमध्ये २३ लाख ३० हजार रुपैयाँ बराबरको औषधिजन्य सामग्रीहरु पुनः प्रयोगमा ल्याउने गरी स्टोर दाखिला भएको जानकारी दिइएको छ। क्वारेन्टाइनमा रहने १७५ विद्यार्थी, नेपाल वायुसेवा निगमका १८ कर्मचारी, चिकित्सक समूह, सफाइकर्मी तथा एम्बुलेन्स टोलीसहित ९ गरी २०२ जनालाई स्तरीय प्याकिङसहितको स्वस्थ्यकर खाना खुवाइएको बताइएको छ।
क्वारेन्टाइनमा शाकाहारी र मांसाहारी दुवै किसिमका लागि छाक खाना र खाजाको व्यवस्था गरिएको स्मरण गराउँदै सेनाले त्यसका लागि कार्की केटरिङसँग प्रति व्यक्ति प्रति दिन भ्याट बाहेक एक हजार ३५० रुपैयाँमा सम्झौता भएको जानकारी दिएको छ। क्वारेन्टाइनको सुरक्षामा खट्टिएका ३० सुरक्षाकर्मीलाई नास्ता, चिया र पानीको व्यवस्था पनि उक्त रकमबाट भएको सेनाले स्पष्ट गरेको छ।
कोभिड-१९ को विषम परिस्थितिमा मुलुकको प्रमुख सयन्त्रका रुपमा आफ्नो जीवनलाई खतरामा राखेर जनताको रक्षामा काम गरिरहेको सेनाको मनोबल कमजोर तुल्याउने उद्देश्यबाट आउने टिक्का टिप्पणी प्रति सचेत रहन सैनिक मुख्यालयले सबैमा अनुरोध गरेको छ।