PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बुँदाबुँदाको बेइमानीले बिग्रिँदै बक्सिङ



पहिलोपोस्ट

बुँदाबुँदाको बेइमानीले बिग्रिँदै बक्सिङ

  • राधेश्याम दाहाल -

नेपाल बक्सिङ संघको चार वर्षे कार्यकाल यसै साता सकिएको छ। कोरोना र लकडाउनको अवस्था नभएको भए अहिले संघमा नयाँ नेतृत्वका लागी निर्वाचन भइसक्ने अवस्था थियो।

कोरोनाका कारण अझै केही समय राम अवालेले असक्षमको पगरी गुथेर भए पनि अध्यक्ष पदमा आसिन भैरहने पक्का छ। राम अवाले अध्यक्ष भएदेखि नेपाली बक्सिङ खेलमा चमत्कार हुने अपेक्षा गरेर एउटा समूह उनलाई अध्यक्ष बनाउन लागिपर्‍यो। पूर्व बक्सिङ खेलाडी पनि भएका कारण र एउटा ब्यापारी पनि भएका कारण उनले बक्सिङ खेलमा केही विशेष काम गर्छन् कि भन्ने अपेक्षा बक्सिङ बुझनेहरुका लागि हुनु अन्यथा थिएन। तर, यो चार वर्षे कार्यकालमा उनी कति सम्म सक्षम रहेनछन् भन्ने पुष्टि भएको छ। उनीसँग संघ चलाउन सक्ने क्षमता रहेनछ भन्ने पुष्टिमात्र भएन नेपालको बक्सिङ खेल निकै पछाडि पनि पर्दै गयो। संघ चलाउनका लागि अध्यक्ष, महासचिव र कोषाध्यक्षको महत्वपूर्ण भूमिका हुन्छ। तर, चार वर्षको अवधिमा नेपाल बक्सिङ संघमा अध्यक्ष, महासचिव र कोषाध्यक्षकै तालमेल मिलेन। महासचिव र कोषाध्यक्ष सहितको टोली चार वर्ष नै अध्यक्ष विरुद्ध लाग्नुपर्ने अवस्था आइलाग्यो। अवालेले चार वर्षको अवधिमा एउटा पनि वार्षिक साधारण सभा गरेनन्। २५ जनाको कार्यसमितिमा उनलाई १३ सदस्य पुर्‍याएर माइन्युट गर्न पनि प्रत्येक पटक धौधौ परेको संघकै पदाधिकारी बताउँछन्।

नेपाल बक्सिङ संघको विधानले नै नदिएका ऐतिहासिक निर्णय गरेर विवादमा आउने काम पनि उनले यो चार बर्षमा जारी राखे। विष्णुगोपाल श्रेष्ठलाई आजीवन अध्यक्ष बनाउने काम पनि उनले यो अवधिमा गरे। नेपाल बक्सिङ संघको विधानले कहीँ कतै यस्तो ब्यवस्था गर्न मिल्दैन। गर्नैपर्ने भए साधारण सभामार्फत् वा विधान संशोधन गरेर गर्न पर्ने थियो जुन उनले गरेनन्। उनले आजीवन मानार्थ अध्यक्षमात्र बनाएनन् अन्तर्राष्ट्रिय जगतमा पत्राचार समेत गरे। जुन विधानले कुनै पनि हालतमा स्वीकार गर्न सक्दैन। स्मरण रहोस् नेपालको खेल क्षेत्रमा शरदचन्द्र शाहको पालादेखि नै खेल क्षेत्रमा बसेर राजा महाराजालाई खुशी बनाउन विशेष भूमिका खेल्ने ब्यक्तिका रुपमा विष्णुगोपाल श्रेष्ठ चिनिन्छन्। उनै विष्णुगोपाल श्रेष्ठ अहिले आएर नेपाली खेल क्षेत्रका अर्का चर्चित ब्यक्तित्व जीवनराम श्रेष्ठका पनि प्रिय पात्र हुन्। जीवनराम श्रेष्ठले नेतृत्व गरेको ओलम्पिक कमिटीलाई जसलाई नेपालको सर्वोच्च अदालतले पटकपटक अवैधानिक ठहर गरेको थियो। त्यसको एउटा कमिशनमा बसेर विष्णु गोपालले अहिले पनि काम गर्न सफल भएका छन्।

त्यस्तै, उनले विधानले नै ब्यवस्था नगरेको सह–कोषाध्यक्ष भन्ने पद पनि श्रृजना गरे। साधारण सभाबाट कोषाध्यक्ष बनेका गौतम सुजखुलाई हटाएर उनले संघका सदस्य रामबहादुर गिरीलाई सह–कोषाध्यक्ष बनाए। विधानले नदिएको यो काम गर्नका लागि अवालेले राष्ट्रिय खेलकुद परिषदका तत्कालीन सदस्य सचिव केशव विष्टलाई प्रयोग गरे। राम अवाले र केशव विष्ट दुवै गीत संगितका सौखिन भएकाले दुवैको कुरा मिल्यो र राखेपले सानिमा बैंकलाई पत्राचार गर्‍यो। राखेपको पत्रलाई आधार मानेर सानिमा बैंकले खातामा नाम परिवर्तन गर्‍यो जुन कानुनतः मिल्दैन।

संघका कोषाध्यक्ष सुजखुका अनुसार राम अवालेले चार वर्ष अब्यवस्थित घर चलाए जस्तो गरी संघ चलाए। संघमा भएका यी सबै गतिविधिका बारेमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र अन्य निकाय पनि उजुरी गर्दा कहीँ कतैबाट सुनुवाई नभएको सुजखु बताउँछन्। राखेपको पत्रको आधारमा कोषाध्यक्षको हस्ताक्षर परिवर्तन गर्ने सानिमा बैंक पनि कारवाहीको भागिदार हुनु पर्ने हो तर, सरोकारवाला सबै पक्ष मौन छन्।

राखेपका तत्कालीन सदस्य सचिव केशव विष्टका कारण पनि संघमा समस्या आएको उनी बताउँछन्। नेपाली खेल संघको इतिहासमा संघको अध्यक्षलाई बहुमत सदस्यहरुले हस्ताक्षर गरेर स्पष्टिकरण सोधिएको पनि सायद बक्सिङ नै पहिलो होला। त्यती हुँदा पनि उनले संघलाई ब्यवस्थित रुपमा चलाउने प्रयास गरेनन्।

संघका महासचिव सविन भट्टाचार्य पनि अध्यक्ष अवालेको गतिविधिबाट आजित भएका रहेछन्। अध्यक्ष अवालेले विधान, पद्धती र मान्यताको खिल्ली उठाउदै संघ चलाएको आरोप लगाए। उनका अनुसार भाई श्याम अवाले र दाजु राम अवाले मिलेर संघलाई घरको सम्पत्ति जस्तो गरी प्रयोग गरे। संघको हिसाब किताब अहिलेसम्म अडिट नै नभएको र राखेपबाट लिएको लाखौं रुपैयाको हिसाब किताब पनि फर्छयौट नभएको पनि महासचिब भट्टचार्यको दाबी छ।

प्रचण्ड शर्मा, बक्सिङ प्रशिक्षक पनि वर्तमान संघ निकम्मा नै सावित भएको तर्क गर्छन्। उनका अनुसार यो चार वर्षमा संघ थप १० वर्ष पछाडि धकेलियो। उनकै भनाईलाई आधार मान्ने हो भने बक्सिङ संघले आफैले चार वर्षमा एउटा पनि प्रतियोगिता आयोजना गर्न सकेन। राखेपले संचालन गरेको र रकम दिएको प्रतियोगिता बाहेक संघले अरु केही पनि गरेन। राखेपले दिएको रकम र हिसाब किताव पनि फर्छ्यौट हुन सकेको छैन।

संघका अर्का पुराना सदस्य ओम नारायण श्रेष्ठ पनि अध्यक्ष अवालेका कारण बक्सिङ खेल ओरालो लाग्दै गएकोमा चिन्तित छन्। कुनै बेला राम अवालेलाई अध्यक्ष बनाउन भूमिका खेल्ने ओम नारायण यति बेला आफूले गल्ती गरेको स्वीकार गर्छन्। गलत मान्छे संघको अध्यक्ष बन्दा खेल र खेलाडी पीडित भएको उनको गुनासो छ। दल बहादुर राना मगर, पुष्कर ध्वज शाही, प्रकाश थापा मगर, रामचन्द्र थापा मगर, दिपक महर्जन जस्ता अन्तराष्ट्रिय रुपमा सफल र चर्चित खेलाडी भएको नेपालको बक्सिङ खेल असफल नेतृत्वका कारण दिनदिनै ओरालो लाग्दै छ।

अन्तर्राष्ट्रिय रुपमा पनि एशियाली बक्सिङ कन्फेडेरेशनको सदस्य बन्ने राम अवालेको प्रयास पनि असफल भयो। विदेशी समुदायले पनि अवालेको नेतृत्वलाई अस्वीकार गरिसकेको अवस्था छ। अहिले फेरि अर्को कार्यकाल अध्यक्ष बन्ने चाहना भएर होला अवालेले थप २६ जिल्ला थप्ने योजना बुनिरहेको बुझिएको छ। चार वर्षे अवधिमा असफल सावित भएका अवालेको नेतृत्वमा टिकिरहने चाहनाले नेपालको बक्सिङ खेलको भविष्य पनि पशुपतिनाथ बाहेक अरुले बचाउन सक्ने जस्तो अवस्था देखिँदैन। नेपालका खेल संघ संचालन गर्ने विषयमा राज्यको स्पष्ट नीति आवश्यक छ। खेल संघमा अटाउनेहरुको केही सीमित चाहनाहरु छन्। त्यो भनेको नेपाल ओलम्पिक कमिटिमा स्थान बनाउने र पाएका केही अवसरको सदुपयोग गर्दै विदेशको शयर गर्ने। अन्य केहीलाई खेल संघमा बसेर मानव ओसार पसारको काम गर्ने, देश भित्र र देश बाहिरबाट प्राप्त हुने आर्थिक र सामाजिक लाभलाई इन्जोए गर्ने।

यी विषयमा राज्यले लगाम कस्न सक्छ तर राज्यले यस्ता विषयलाई नियन्त्रण गर्न नेपालको खेल क्षेत्रको जिम्मेवारी विदेश जाने लोभ नभएको र आर्थिक रुपमा दरिद्र मानसिकता नदेखाउनेलाई दिँदामात्र यो संभव छ। नेपालको खेल क्षेत्रलाई राज्यले कहिले पनि प्राथमिकतामा पारेन जसका कारण खेलका नाममा झेल गर्नेहरुको बिगबिगी बढेर गयो। नेपाललाई एसियाली स्तरमा राम्रो पदक र ओलम्पिक खेलसम्म छनौट भएर प्रतिस्पर्धा गर्न सक्ने खेलका रुपमा बक्सिङ रहेको छ। तर, नेपालमा जहिले पनि नेतृत्वको असक्षमताका कारण संभावना बोकेका खेलहरु समेत ओरालो लाग्दै गएका छन्। यसतर्फ सम्बन्धित सबैको ध्यान जान जरुरी छ। बेलैमा सचेत भइएन भने बक्सिङ पनि दुर्घटनामा पर्ने निश्चित छ। सबैलाई चेतना भया।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell