कैलाली : गत जेठ २९ गते कैलालीको त्रिनगर भन्सार भएर भारतको बङ्गलोरबाट घर फर्किएका एक युवकको मृत्यु भएको छ। दार्चुलाको मार्मा गाउँपालिका ३ लटीनाथका २१ वर्षे युवकको बिहीवार बेलुकी मृत्यु भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवरले बताए।
उनले युवक मानसिक रुपमा अस्वस्थ रहेका कारण लटीनाथ मावि रस्कोटको क्वारेन्टिनमा एकदिन मात्रै राखेर परिवारको जिम्मामा घर पठाइएको बताए। मृतकको बिहीवार राति नै पीसीआर जाँचका लागि नमुना संकलन गरिएको उल्लेख गर्दै सहायक प्रमुख जिल्ला अधिकारी कुँवरले जाँचको लागि उक्त नमुना आजै धनगढी पठाइएको बताए।
मार्माका स्वास्थ्य संयोजक चक्रसिह धामीका अनुसार उनको धनगढी र लटीनाथमा गरिएको आरडीटी रिपोर्ट नेगेटिभ थियो।
कोरोनाको रिपोर्ट आएपछि मात्रै शवको शदगद गरिने बताइएको छ। मंगलबारदेखि स्वास्थ्यमा समस्या देखिएका युवकलाई ज्वरो र टाउको दुख्ने समस्या बढ्दै गएपछि बिहीवार उपचारका लागि लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको बताएको छ।